काठमाडौँ- यसपालिको दसैँअघि काठमाडौं उपत्यकाबाहिरका सडक तथा राजमार्गहरु मर्मत/सम्भार नहुने भएको छ। बजेट अभावको बहाना बनाउँदै सरकार काठमाडौँ उपत्यकाबाहिरका सडक तथा राजमार्गको मर्मत/सुधारबाट पन्छिएको हो।
असोज १७ गते बुधबार प्रतिनिधि सभाका विकास तथा प्रविधि समितिमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक मर्मत गर्न बजेट अभाव रहेको बताएका थिए। उनले दसैंअघि काठमाडौं उपत्यकाभित्रका खाल्डाखुल्डीको मर्मत र व्यवस्थापन गसिक्ने बताएका थिए।
उपत्यकाबाहिरका सडक तथा राजमार्गको मर्मत तथा सुधारका लागि बजेट नै नभएको उनले समितिमा बताएका थिए।
‘मन्त्रालय चाडपर्व लक्षित यातायात व्यवस्था सहजीकरण र सडक मर्मत सम्भारका लागि गम्भीर छ। तर बजेटको अभाव छ। बजेटको अभावले भनेजस्तो नहुन पनि सक्छ,’ उनले भने, ‘प्रक्रियागत झमेलाहरु पनि छन्। तर भएका स्रोतलाई अत्याधिक प्रयोग गरेर सडक मर्मत गर्ने कुरा, खाल्डाखुल्डी व्यवस्थापन गर्ने कुरा र यातायात सहज गर्ने कुरामा मन्त्रालय गम्भीर छ।’
काठमाडौं उपत्यका बाहिरका सडकखण्ड तथा राजमार्गहरु स्तरोन्नति तथा निर्माणकf क्रममा छन्। तर निर्माणाधीन अवस्थाका राजमार्ग भन्दै बजेट अभाव देखाएर सरकारले खाल्डाखुल्डी पुर्ने कामलाई टार्ने योजनामा छ। उपत्यकाबाहिरका सडकहरुको अवस्था दसैंअघि सुध्रने कुनै संकेत छैन।

अहिले पश्चिमबाट काठमाडौं उपत्यका छिर्ने नाका नागढुंगा–मुग्लिन सडकखण्डमा पनि अवस्था नाजुक छ। पुनः मर्मत गर्न सक्ने अवस्था छैन।
निर्माणाधीन अवस्थाको उक्त सडकखण्डमा खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम छ। ४ लेनमा विस्तार गर्न लागिएकाले अधिकांश ठाउँमा यातायात एकतर्फी हुने गरेको छ।
त्यस्तै, नारायणगढ–बुटवल सडकखण्ड पनि अहिले विस्तारकै चरणमा छ। पूर्व–पश्चिम राजमार्ग पर्ने उक्त सडकखण्डको गैँडाकोट र बर्दघाटदेखि दाउन्नेसम्मका सडक अत्यन्त जीर्ण छ। अन्य ठाउँको सडक भने केही फराकिलो भए पनि विस्तारको काम चलिरहेकै छ।
उता, मुग्लिन–पोखरा खण्डको सडक पनि विस्तारकै चरणमा रहेकाले तत्काल मर्मत हुने अवस्था देखिँदैन। विगत एक वर्षदेखि मुग्लिन देखि पोखराको सेतीसम्मको सडक खण्डमा धमाधम सडक विस्तारको काम भइरहेको छ। उक्त सडक खण्डमा अत्यधिक खाल्डाखुल्डी, हिलो, डाँडा कटान गरिएको ग्रेगान ढुंगाका कारण यातायात सञ्चालनमा उत्तिकै सास्ती हुँदै आएको यातायात व्यवसायी बताउँछन्।
यता, कान्ति लोकपथअन्तर्गत हेटौँडा–काठमाडौँ सडकखण्ड पनि विस्तारै क्रममा छ। उक्त सडक खण्डको हेटौँडादेखि भीमफेदी र भीमफेँदीदेखि कुलेखानी सडक खण्ड पनिमा विस्तारका काम भइरहेको छ। उक्त खण्ड पनि बेला बेला पहिरोका कारण अवरुद्ध हुँदै आएको छ।
बीपी राजमार्गमा पनि ठाउँ ठाउँमा खाल्डाखुल्डी र पहिरो खस्ने जोखिम भएका धेरै ठाउँहरु छन्। यीबाहेक ठूला राजमार्गहरुको पनि मर्मत र स्तरोन्नती गर्न बजेट अभाव रहेको बताइरहेको छ।
सडकको अवस्था जीर्ण र बिग्रेकै कारण यातायात व्यवसायीहरुले मर्मत नभएसम्म दसैंका अग्रिम टिकट बुकिङ नखुलाउने अड्डी कसेका छन् ।
‘काठमाडौं बाहिरका सडकको अवस्था बिजोक छ। दसैं आइसक्यो, ती सडक मर्मतमा सरकारको ध्यान छैन। उल्टै बजेट अभावको बहाना बनाएर मर्मत गर्न सकिँदैन भन्छ,’ राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला भन्छन्, ‘दसैंमा गाउँ जाने यात्रुलाई सहज रुपमा र दुर्घटनाको जोखिम हटाउँदै गराउनुपर्छ भन्ने हाम्रो माग हो। त्यसका लागि सडक मर्मत र शुरक्षा सरकारको दायित्व होला नि।’
सरकारकै निरीहताका कारण दसैंअघि काठमाडौं बाहिरका सडकमार्ग मर्मत हुनेमा उनी आशावादी भने छैनन्।
यता, सडक विभागले भने आफ्नो कार्यक्षेत्रअन्र्तगतका रणनीतिक सडक तथा राजमार्गको मर्मत सम्भार नियमित भइरहेको जनाएको छ।
‘दसैंअघि मात्रै नभएर सडकको मर्मत र सुधार विभागको नियमित दायित्व हो,’ विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए।



