काठमाडौँ- काठमाडौँ महानगरपालिकाले महानगरमा बसोबास गर्नेहरूलाई निशुल्क रक्तसेवा प्रदान गर्ने भएको छ। यसका लागि महानगरले नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गरेको महानगर प्रमुख (मेयर) बालेन्द्र साह (बालेन)ले जानकारी दिएका हुन्।
‘मिति २०८०/०६/२२ मा हामीले नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा रक्त सञ्चार सेवा काठमाडौँ महानगरवासीले जुनसुकै अस्पतालमा उपचारत गराउँदा निःशुल्क रुपमा रगत र रक्ततत्व उपलब्ध गराउने प्रबन्ध मिलाएका छौँ,’ बालेनले फेसबुक स्टाटसमा लेखेका छन्।
नागरिकले तिरेको करको उच्चत्तम उपयोग गर्दैै सेवा प्रवाहलााई नागरिकमैत्री बनाउने प्रयास गरेको उनको भनाइ छ।
निशुल्क रक्त सेवा लिनका लागि काठमाडौँ महानगरवासी भएको प्रमाण खुल्ने कागजात लिएर नेपाल रेडक्रस सोसाईटीको केन्द्रीय कार्यालयमा सम्पर्क गर्नुपर्ने जानकारी महानगरले दिएको छ।
राजधानीमा हुने रगत अभावलाई न्युनीकरण गर्न महानगरपालिकाले नियमित रक्तदान कार्यक्रम सञ्चालन गर्ने पनि बालेनले जानकरी दिएका छन्। ‘रक्तदान कार्यक्रमलाई प्रोसाहित गर्न सामाजिक तथा गैरसरकारी संघ संस्थाले रक्तदान शिविर संचालन गरेमा त्यस निकायलाई प्रति युनिट रु २०० सञ्चार तथा यातायात खर्चको लागि रकम उपलब्ध गराइनेछ,’ उनले लेखेका छन्।
बिरामीलाई रगत उपलब्ध गराउने र रगत परीक्षण ग्रुपिङ्ग तथा क्रस म्याचिङलगायतका कार्यका लागि महानगरले नेपाल रेडक्रस सोसाइटीलाई प्रतियुनिट रु १३०० उपलब्ध गराउने समेत सम्झौतामा उल्लेख छ।
नेपालभरिका जुनसुकै नागरिकलाई समेत प्रकोप वा आकस्मिक अवस्थामा रगत उपलब्ध गराउने र सो समेतको खर्च महानगरपालिकाले व्यहोर्ने महानगरले जानकारी दिएको छ।


