काठमाडौं- सहायक रथी यमबहादुर अधिकारीको सेवा अवधि पुन: तीन वर्ष थप गरिएकोमा पूर्वजर्नेलहरूले आपत्ति जनाएका छन्।
पूर्वमाओवादी लडाकुबाट सेनामा आएका अधिकारीको सरकारले सहायक रथीमा थप तीन वर्ष सेवा अवधि गरेको थियो।
यसअघि केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला पहिलो पटक तीन वर्ष सेवा अवधि थपिएका अधिकारीलाई माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा फेरि अवधि थपिएको हो।
सेवा अवधि नथपिएको भए अधिकारीले गत भदौ ३१ गते अवकाश पाउँथे।
सचेत नागरिक, वीरगति प्राप्त सैनिक परिवार र पूर्वसैनिकहरूले विज्ञप्ति जारी गरी राजनीतिक दबाबमा अधिकारीको सेवा अवधि बढाइएको दाबी गरेका छन्।
‘नेपाली सेना कुनै पनि राजनीतिक दलको भ्रातृ संगठन होइन र हुनुहुन्न,’ विज्ञप्तिमा भनिएको छ, ‘एक पटकको लागि विशेष पद सिर्जना गरी पदोन्नति गरेको चार वर्षपछि स्वत: खारेज हुनुपर्नेमा तीन वर्षको सेवा अवधि थप गरिएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’
सेनालाई राजनीतिकरण गर्ने प्रयास गरिएको भन्दै यस्तो कार्यले वीरगति प्राप्त सैनिक परिवार तथा अवकाश प्राप्त सैनिकको अवमूल्यन भएको विज्ञप्तिमा उल्लेख छ।
‘अधिकारीलाई राजनीतिक नेतृत्वको दबाब र प्रभावमा तीन वर्ष सेवा अवधि थप गरिएको मात्रै नभएर सेनाका अधिकृतको वृत्ति विकास, दण्ड र पुरस्कार, पदक, विभूषण, सरुवा बढुवा हेर्ने सैनिक सचिवजस्तो महत्वपूर्ण पदमा नियुक्ति दिइनुलाई कसैले पनि सहज रुपमा स्वीकार गर्न सकेका छैनन्,’ विज्ञप्तिमा उल्लेख छ, ‘यो कार्यले नेपाली सेना माओवादीकरण भएको हो? भन्ने जटिल प्रश्न खडा गरेको छ भने देशभक्त नेपालीको गम्भीर चासो र चिन्ताको विषय समेत बन्न पुगेको छ।‘
अति काबिल, योग्य, फिल्डमा आफूलाई क्षमनावान देखाएर ‘नेपाल तारा’जस्ता विभूषण पाएका सेनाका कतिपय अधिकृतहरूलाई बीचैमा सेवाबाट अवकाश दिएको अवस्थामा माओवादीबाट आएका अधिकृत पुरस्कृत भइरहनुले सेनाको गौरवमा आँच आएको विज्ञप्तिमा दाबी गरिएको छ।
यो निर्णय तत्काल फिर्ता लिन पनि विज्ञप्तिमा माग गरिएको छ।




