काठमाडौँ- नेपाल टेलिकमले चाडपर्वहरुलाई लक्षित गरी एनटी फाइबरसेवामा प्रोमोसनल अफर ल्याएको छ। एफटीटीएच प्रविधिमा आधारित यो सेवामा स्पिड थप गर्ने अफर ल्याइएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए।
आगामी बिहिबार (२०८० असोज २५) देखि लागू हुने यो अफरमा २५० प्रतिशतसम्म स्पिड व्यान्डविथमा बढोत्तरी गरिएको छ।
सेवाग्राहीहरुको रुचि र चासो रहेको एनटी फाइबर सेवामा कम्पनीले सहुलियत प्रदान गर्न लागेको हो।
यस अफरमा हाल १० एमबीपीएस गतिको इन्टरनेट प्रयोग गरिरहनु भएका सेवाग्राहीले सोही मूल्यमै २५ एमबीपीएस र २० वा ३० एमबीपीएस गतिको इन्टरनेट चलाइरहेका सेवाग्राहीले सोही मूल्यमा ५० एमबीपीएससको सेवा प्रयोग गर्न सक्नेछन्।
यसैगरी ४० एमबीपीएस गतिको सुविधा प्रयोग गरिरहनुभएका ग्राहकहरुले सोही मूल्यमा अबदेखि १०० एमबीपीएसको सेवा प्राप्त गर्नुहुनेछ।
हाल ८० एमबीपीएस सेवा लिइरहनु हुने सेवाग्राहीहरुलाई पुरानै दरमा १५० एमबीपीएस गतिको सेवा उपलब्ध हुनेछ। यसका साथै हाल उपलब्ध हुँदै आएको फेयर युसेज पोलिसी लिमिटलाई समेत बढोत्तरी गरिएको छ।
साथै हाल ३० एमबीपीएस र सो भन्दा माथिको एक वर्षको प्याकेज लिंदा दैनिक ३०० एमवी डाटा सेवाको सुविधा पनि उपलब्ध हुनेछ। यो सेवा उपयोग गर्नका लागि एनटी फाइबर सेवा लिंदा उपलब्ध गराइएको टेलिकमको मोबाइल नम्बरबाट *१४१६# डायल गर्नु पर्नेछ।


