तेलअबिब- प्यालेस्टाइनी इस्लामिक समूह हमासले शनिबार गरेको आक्रमणपछि जारी दोहोरो युद्धमा परी इजरायलमा १ हजार २ सय व्यक्ति मारिएको आकलन गरिएको छ। यीमध्ये ९ सय भन्दा बढी गाजा क्षेत्रमा मात्र मारिएको इजरायली पक्षको भनाइ छ।
यो युद्धमा १० नेपालीसहित १४ अमेरिकी पनि मारिएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले यो घटनालाई बर्बरतापूर्ण भनेका छन्।
इजरायलमा मारिएकामध्ये अधिकांश सांघातिक हत्या भएको बताइएको छ। नेपाली विद्यार्थीहरुको पनि गोली र ग्रिनेट हानी हत्या भएको प्रत्यक्षदर्शी र बाँच्न सफल भएका नेपाली विद्यार्थीले बयान दिएका छन्।
मारिनेहरुमध्ये अधिकांश निशस्त्र सर्वसाधारण छन्। इजरायलले हमास समूहका दुई उच्च अधिकारी पनि मारिएको दाबी गरेको छ।
इजरायली रक्षामन्त्री योआब गालान्टले सेनालाई सबै किसिमको कारबाही गर्ने अधिकार दिएको बताएका छन्। यसका साथै उनले गाजा अब पुरानै अवस्थामा फर्कन नसक्ने पनि उल्लेख गरेका छन्।
संयुक्त राष्ट्रसंघले २ लाख ६० हजारभन्दा बढी विस्थापित भएको आकलन गरेको छ।


