काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल क्लाइमेट पार्टनरपसिप फन्ड (जीसीपीएफ) लक्जम्बर्गबाट २५ मिलियन अमेरिकी डलर ऋण लिने भएको छ। यससम्बन्धी सम्झौतामा दुवै पक्षबीच हस्ताक्षर भएको बैंकले जानकारी दिएको छ।
उक्त ऋणले बैंकको कर्जा प्रवाह क्षमतालाई अभिवृद्धि गर्नुका साथै बैंकलाई ऊर्जा दक्षता प्रवर्द्धन गर्न तथा नवीकरणीय ऊर्जा परियोजनाहरुमा वित्तीय सहायता प्रदान गर्ने बैंकले जानकारी दिएको छ।
जीसीपीएफले जलवायु परिवर्तनसम्बन्धी व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले नेपालमा पहिलो पटक ग्लोबल आइएमई बैंकलाई ऋण प्रदान गरेको हो।
वातावरण संरक्षणमा यसको महत्वपूर्ण वित्तीय भूमिका रहने विश्वास गरिएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले विश्वका विभिन्न २७ विकासोन्मुख तथा उदीयमान राष्ट्रहरुमा जलवायु परिवर्तन तथा दिगो विकासमा केन्द्रित रही वित्तीय लगानी गर्दै आएको जीसीपीएफसँगको सहकार्यप्रति खुशी व्यक्त गरेका छन्।
नेपालमा जलवायु परिवर्तनबाट पर्ने असर कम गर्न, उर्जा क्षेत्रमा प्रभावकारीता एवं दक्षता वृद्धि गर्न तथा नविकरणीय ऊर्जा परियोजनाहरुमा वित्तीय सुविधा उपलब्ध गराउन यस क्लाइमेट फन्डले महत्वपूर्ण सहयोग पुर्याउने दुवै पक्षले विश्वास लिएका छन्।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।
बैंकले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।


