पोखरा- गोरखापत्र दैनिकका पोखरा संवाददाता फडिन्द्र अधिकारीमाथि दुर्व्यवहार भएको छ।
बुधबार पोखरा सभागृहमा समाचार संकलनको क्रममा पुगेका अधिकारीमाथि दुर्व्यवहार भएको हो।
क्रियटिभ ब्रोर्डकास्टिङ मिडिया प्लसका सञ्चालक मिलन प्रतीकले राजनीतिक पावर देखाउँदै पत्रकारमाथि दुर्व्यवहार गरेका हुन्।
पोखरा सभागृहमा भएको कार्यक्रममा समाचार संकलनका लागि पुगेका उनले कार्यक्रम आयोजकसमेत रहेका प्रतीकलाई प्रश्न सोधेका थिए।
यसपछि आयोजक प्रतीकले अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेको पत्रकार अधिकारीले बताएका छन्।
पूर्वराष्ट्रपति रामवरण यादव र पूर्वमुख्यमन्त्री खगराज अधिकारी तथा पोखरा महानगरका मेयर धनराज आचार्य आफ्नो साथमा रहेको भन्दै उनी अपशब्द बोल्दै पत्रकारमाथि खनिएका थिए।
पत्रकार अधिकारीलाई थर्काउँदै कार्यक्रमस्थलबाट बाहिर निकालेका थिए।
उनले राजनीतिक शक्तिको तुजुक देखाएको पोखराका पत्रकारहरूको भनाइ छ।
घटनाप्रति नेपाल पत्रकार महासंघ गण्डकीले निन्दा गरेका छ। साथै उनलाई कारबाही गर्नसमेत महासंघले माग गरेको छ।
प्रतीकको संस्थाले मिडियासम्बधी तालिम संचालन गर्दै आएको छ।
तालिममा सहभागी महिलाले आफूहरुमाथि पनि प्रतीकबाट दुर्व्यवहार हुने गरेको आरोप लगाउँदै आएका छन्।



