काठमाडौँ- तीनकुनेमा चार जनाको हत्या गरेको मुद्दाका अभियुक्त सञ्जय भण्डारी पुर्पक्षका लागि थुनामा पठाइएका छन्।
काठमाडौँ जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाइएको हो।
भण्डारीलाई केन्द्रीय कारागारको गोलघरमा पठाइएको छ। गोलघरमा कडा सुरक्षा घेराभित्र राख्न गरिन्छ।
केन्द्रीय कारागारका अनुसार गम्भीर प्रकृतिको अपराधमा संलग्न देखिएकाले उनलाई कडा सुरक्षा व्यवस्थासहित राखिएको हो। बयानका क्रममा आफूले अरु पनि स्थानमा हत्या गरेको बयान दिएपछि प्रहरीले त्यसतर्फ पनि अनुसन्धान केन्द्रित गरेको छ।
क्रूरतापूर्वक चार जनाको हत्या ज्यान लिएको भन्दै जीवित रहेसम्म कैद हुने गरी जन्मकैदको सजाय मागदाबी गरेको छ।
भदौ ३० गते दिव्य स: मिल तथा काष्ठ उद्योगमा भण्डारीले विशाल राई, दोलखाका कुमार भनिने पूर्णबहादुर भुजेल, उनकी पत्नी अम्बिका भुजेल र आमा शुभद्रा भुजेलको हत्या गरेका थिए।
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-९ का २३ वर्षीय सञ्जय भण्डारी बोल्न सक्दैनन्। प्रहरीले सांकेतिक भाषाबाट उनीसँग बयान लिएको थियो।
केही समयअघि मोरङ बेलबारीका नवीन भनिने विशाल राईले चलाएको मोटरसाइकलले भण्डारीलाई चाबहिलमा ठक्कर दिएको थियो।
त्यसबेला राईले भण्डारीलाई कुटपिट गरेका थिए। त्यसैको रिसिइबी साँध्न भण्डारी काठमिलमा राईलाई खोज्दै पुगेको देखिएको छ।
सुरूमा राई बस्ने ठाउँ खोज्दै भण्डारी काठ मिलमा पुगेको देखिएको छ। सुरूमा उनले ‘भेट्छु निहुँ खोजे छप्काइदिन्छु’ भनी दिदी-भिनाजुको घरको डेराबाट खुकुरी लिएर काँडाघारीबाट निस्केका थिए।
मिलको पछाडिपट्टीको बन्द गेटबाट माथि चढेर उनी भित्र छिरेका थिए।
‘उनी भित्र छिरेर सोफामा बसे,’ परिसर प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुंगेलले अनुसन्धानबारे भनेका थिए, ‘किन बसेको भन्दै विशालले कुटपिट गरेपछि रिस थाम्न नसकेर टाउकोमा खुकुरी प्रहार गरी हत्या गरे।’
विशालको हत्या गर्ने क्रममा बुढी आमा शुभद्रा भुजेलले देखिन्। प्रहरीका अनुसार भण्डारीले उनलाई पनि टाउकोमा खुकुरी प्रहार गरेका थिए।
त्यसपछि पूर्णबहादुर भुजेल (कुमार)ले देखे। उनलाई पनि प्रहार गरे। क्रमश: उनकी श्रीमती अम्बिकाले देखिन्। उनलाई पनि टाउकोमा नै प्रहार गरेका थिए।
त्यसपछि भण्डारीले पूर्णबहादुरको लाशलाई छिसार्दै टहराको कुनामा रहेको ट्वाइलेटको ढोका छेउमा फालेको प्रहरी अनुसन्धानले देखाएको छ। अम्बिकाको लाशलाई पानीको कल छेउमा लगेर फाले र शुभद्राको शव काठको गोदाम छेउमा लगेर फालेको देखिएको छ।
उनले कापीमा ‘आई किल्ड फोर पिपल’ लेखेको ढुंगेलले बताए। भण्डारीले सांकेतिक भाषामा कक्षा १२ पास गरेको बताएका छन्।


