तेलअबिब– गाजा क्षेत्रको एक अस्पतालमा आक्रमण हुँदा कम्तीमा ५ सय जनाको मृत्यु भएको प्यालेस्टाइनी पक्षले दाबी गरेको छ। अल-अली अस्पतालमा भएको रकेट आक्रमणमा परी सयौँ घाइते भएका छन्।
हमास समूहले यसको जिम्मेवार इजरायल भएको बताएको छ भने इजरायलले भने हमास आफैँले विस्फोट गराएको बताएको छ।
अस्पतालमा आक्रमण गर्नु युद्ध अपराध भएको हमासको भनाइ छ। तर इजरायलले भने आक्रमण प्यालेस्टाइनकै इस्लामिक जिहादले गरेको हुन सक्ने बताएको छ।
जिहादले भने इजरायलको आरोप अस्वीकार गरेको छ।
अस्पतालमा आक्रमण भएपछि जोर्डन, इजिप्ट र प्यालेस्टाइनी नेताहरूले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग हुने भनिएको भेटको कार्यक्रमलाई रद्द गरेका छन्। बुधबार बाइडेन इजरायल भ्रमणमा आउँदै छन्।
हमास र हिजबुल्लाहले भने यो आक्रमणमा अमेरिकाको पनि संलग्नता भएको आरोप लगाएका छन्।


