पाल्पाको रानीमहल नजिकै गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
आइतबार दिउँसो तानसेनबाट रानीमहल जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ७२०९ नं. को स्कारपियो जिप दुर्घटनामा परेको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका अनुसार जिप दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा परेकाहरू तीन जना महिला, दुई बालबालिका र एक पुरूष रहेका छन्।
घटनास्थल रानीमहल दरबारदेखि डेढ किलोमिटरको दुरीमा छ। तानसेन नगरपालिका अन्तर्गत पर्ने बैकुण्ठभिरबाट दुर्घटनामा परेको उक्त जिप सडकदेखि ७० मिटर भन्दा तल छांगोमा खसेको प्रहरी नायब निरीक्षक चापागाईले जानकारी दिए।
घटनास्थल अत्यन्त अप्ठ्यारो स्थानमा रहेको र दुर्घटनामा परेकाहरुको उद्धार गर्न कठिन भइरहेको प्रहरीले जनाएको छ। गाडीमा कति जना यात्रु थिए भन्ने खुलिसकेको छैन। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


