काठमाडौं (एजेन्सी) – युरोपियन च्याम्पियन्स लिग अन्तर्गत समूह एचको खेलमा बार्सिलनाले जित हासिल गरेको छ।
समूह चरणमा तेस्रो जित निकाल्ने क्रममा बार्सिलोनाले शख्तार डोनेस्कलाई २-१ ले पराजित गरेको हो।
बार्सिलोनाको जितमा फेरान टोरस र फर्मिन लोपेजले गोल गरेका थिए।
खेलको आठौं मिनेटमा फर्मिन लोपेजले दुई डिफेन्डरलाई छक्क्याउँदै गरेको प्रहार शाख्तरका गोलरक्षक रिजनिकले राम्रो बचाउ गरे। २५औं मिनेटमा जोआओ क्यान्सेलोको प्रहारमा पनि रिजनिक बाधक बने।
त्यसको तीन मिनेट पछि भने रिजनिकले गोल बचाउन सकेनन्।
गुन्डोगानले दिएको पासमा फर्मिनको प्रहार पोस्टमा लागेर फर्किएपछि फेरान टोरसले गोल गर्दै अग्रता दिलाए।
सुरुवातमा रेफ्रीले अफसाइड दिए पनि भिडियो असिस्टेन्ट रेफ्रीले निर्णय उल्ट्याइदिएका थिए।
३६औं मिनेटमा भने फर्मिनले आफैं गोल गर्न सफल भए। यसपटक भने उनलाई फेरानले असिस्ट दिएका थिए।
६२औं मिनेटमा शाख्तरले एक गोल फर्कायो। इराक्ली अजारोभिको पासमा जर्जिय सुडाकोभले काउन्टर अट्याकमा गोल गर्दै बार्सिलोनाको अग्रता घटाए।
समूह चरणका ३ खेलमा ९ अंकसहित बार्सिलोना पहिलो स्थानमा छ। पराजित शाख्तर ३ खेलमा १ जित र २ हार सहित तेस्रो स्थानमा छ।


