काठमाडौं- एसीसी यू– १९ प्रिमियर कपको उपाधि जितेर नेपाल फर्केको नेपाली किक्रेट टोलीका कप्तान देव खनालले, आफूहरुको मुख्य परीक्षा बाँकी नै रहेको बताएका छन्।
मलेसियामा सम्पन्न प्रतियोगितामा यूएईलाई हराउँदै उपाधि जितेर स्वदेश फर्किएको नेपाली टोलीका कप्तान खनालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा टोलीले राम्रो प्रर्दशन गर्दै आएको र दुवैमा क्वालिफायर भएपनि आफूहरुको मुख्य परीक्षा अझै पनि बाँकी नै रहेको बताएका छन्।
उनले भने, ‘हाम्रो टोलीले विश्वकप र एसियाकप क्वालिफलायरमा गयौं। मलाई हाम्रो मुख्य टेस्ट अब हुन्छ जस्तो लाग्छ। टेस्ट प्लेइङ राष्ट्रका टोलीहरुसँग अब खेल्नुपर्छ, त्यहीबाट हाम्रो पनि टेस्ट सुरु हुन्छ।’
उनले सबैले राम्रो प्रर्दशन गरेकै कारण टोलीले यो उपलब्धि हासिल गरेको बताए। ‘हामी सबैजनाको माइण्डसेट क्लियर थियो। हामी सबैको ध्येय नै टीमलाई क्वालिफायर गराउने थियो। सोही अनुसार टोलीले ग्राउण्डमा प्रदर्शन गरेकै कारण च्याम्पियन भयौं, खनालले भने।
एसीसी यू– १९ प्रिमियर कपको उपाधि जितेको नेपाली किक्रेट टोली आज स्वदेश फर्केको हो। क्यानका पदाधिकारी तथा क्रिकेट सर्मथकले फुलमाला र खादाले टोलीलाई विमानस्थलमा भव्य स्वागत गरेका हुन्।


