काठमाडौं (एजेन्सी) – इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्परले जित हासिल गरेको छ।
बुधबार राति भएको खेलमा टोटनहमले क्रिस्टल प्यालेसमाथि २-१ जित निकालेको हो।
शीर्षस्थानमा रहेको टोटेनहमले प्यालेसको मैदानमा जित निकालेको हो।
टोटनहमका लागि सन ह्यूङ-मिनले एक गोल गरे भने एक गोल आत्मघाती गोल रहेको थियो।
शीर्षस्थानमा १०औं चरणको खेल सुरू गरेको टोटनहमले ५३औं मिनेटमा खेलमा अग्रता लिएको थियो।
जेम्स म्याडिसनको क्रस रोक्ने प्रयासमा क्रिस्टल प्यालेसका जोएल वार्डले बललाई आफ्नै पोस्टतर्फ फर्काएका थिए।
६६औं मिनेटमा टोटनहमले अग्रता दोब्बर बनायो। सनले ब्रेनन जोन्सनको पासलाई जालिको दिशा दिएका थिए।
खेलको अन्तिम तिर क्रिस्टल प्यालेसले एक गोल फर्काएको थियो। आन्द्रे आयुले थपिएको समयको चौथो मिनेटमा गोल फर्काएका थिए।
जितपछि टोटनहमको १० खेल बाट २६ अंक भएको छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ९ खेलमा २१ अंक छ। क्रिस्टल प्यालेस भने १२ अंक सहित ११औं स्थानमा छ।
प्रिमियर लिगमा शनिबार साँझ पाँच खेल हुँदैछन्। आइतबार बेलुका प्रतिष्ठित म्यानचेस्टर डर्बीमा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड एक-अर्कासँग भिड्दैछन्।


