भक्तपुर- राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८० को अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा शनिबार भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको विशेष पूजाअर्चना गरेका छन्।
राष्ट्रपति पौडेलले राष्ट्रप्रमुखका रुपमा प्रसिद्ध नवदुर्गा मन्दिर पुगेर नवदुर्गाको पूर्जाअर्चना एवम् दर्शन गरेर प्रसाद ग्रहण गरेका हुन्।
भक्तपुरको नवदुर्गा मन्दिर परिसरमा अपराह्न पुग्दा राष्ट्रपति पौडेललाई मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधि र स्थानीयले स्वागत गरेका थिए। सो अवसरमा परम्परागत रुपमा पूजाका अवसरमा देखाइने नृत्य प्रस्तुत गरिएको थियो।
सो अवसरमा राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गर्नुको साथै नवदुर्गाका पुजारी, नाइके र देवगणलाई दक्षिणा प्रदान गरे।
मल्लकालदेखि राजा महाराजाहरूले नवदुर्गाको पूजाआजा गर्दै आएपनि बीचमा यो परम्परा खण्डित भएको बताइन्छ ।तर २०४५ मा भूकम्प आएपछि दैवीप्रकोपका घट्नाले गर्दा देश र जनताको हित, कल्याणका निमित्त तत्कालीन राष्ट्र प्रमुखले यो पूजाअर्चनालाई निरन्तरता दिन थालेको जानकारी मन्दिर व्यवस्थापन समितिका सल्लाहकार नारायणप्रसाद वनमालाले दिए।
यहाँ ब्रहमायणी, महेश्वरी, कुमारी, वैष्णवी, बाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकाली नवदेवीको पूजा गरिन्छ।
सो अवसरमा राष्ट्रपति पौडेललाई तलेजु मन्दिरबाट ल्याइएको टीकाप्रसाद मन्दिरका मूल नाइके नरेन्द्रप्रसाद जोशीले प्रदान गरेका थिए।


