बारा– बारामा चोर पक्रन मोटरसाइकलमा हुइँकिएका प्रहरी जवानको दुर्घटनामा मृत्यु भएको छ।
बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार मृत्यु हुनेमा कञ्चनपुर भीमदत्त नगरपालिका–११ घर भई हाल इलाका प्रहरी कार्यालय बारामा कार्यरत् जवान आकाश सुनार रहेका छन्।
शनिबार बिहान मोटरसाइकल चोरी गरी लैजाँदै गरेको सूचना पाएपछि ड्युटीमा निस्केका सुनार दुर्घटनामा परेका थिए।
उनी सवार ज१२प७१५४ नम्बरको मोटरसाइकल जितपुर–सिमरा उपमहानगरपालिका–१६ ग्रीनलाइट होटल अगाडि दुर्घटनामा परेको न्यौपानेले बताए।
टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा एलएस अस्पतालमा मृत्यु भएको न्यौपानेले बताए।
मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको थियो।
जितपुर–सिमरा–८ बाट सोही नगरपालिकाको वडा नम्बर १६ काँठगाटतर्फ मोटरसाइकल चोरी गरी लैजाँदै गरेको सूचना पाएपछि उनी ड्युटीमा निस्केका थिए।


