काठमाडौँ- काठमाडौं उपत्यकामा मेट्रोरेल सञ्चालन गर्ने बहस सेलाएको छ। काठमाडौँ महानगरपालिका निवर्तमान मेयर विद्यासुन्दर शाक्य र एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा मेट्रोरेल चलाउने भनरे सार्वजनिक रूपमा वक्तव्यबाजी गरेपनि काम भने अघि बढेको छैन।
शाक्यले आफ्नो पाँच वर्षे कार्यकालभित्र काठमाडौंमा मेट्रोरेल सञ्चालन गर्ने महत्वपूर्ण योजना अघि सारेका थिए।
पूर्वमेयर शाक्यको पहलमा अघि बढेको काठमाडौंमा मेट्रोरेल सञ्चालन गर्ने योजना यतिबेला कागजमै सीमित हुँदै गएको छ।
मेट्रोरेल सञ्चालनका लागि अध्ययन, सम्भाव्यता र निर्माणका लागि स्थानीय सरकार र संघीय सरकारबीच समन्वयन नहुँदा योजना अधुरो हुँदै गएको छ।
५ वर्ष लाएर विद्यासुन्दर शाक्यले मेट्रोरेल सञ्चालनसम्बन्धी अध्ययन र योजना बनाएका थिए।
त्यतिबेला शाक्यलाई काठमाडौंको फोहोर उठाउन नसक्ने तर मेट्रोरेल सञ्चालन गर्ने योजना अघि सारेको भन्दै उनको चौतर्फी आलोचना समेत भएको थियो।
काठमाडौँ महानगरमा शाक्यपछि आएका मेयर बालेन्द्र शाहले काठमाडौं उपत्यकामा मेट्रोरेल सञ्चालनमा हात हाल्न चाहेनन्।
बालेनले काठमाडौं उपत्यका आफैँमा सांस्कृतिक सम्पदा र धरोहर भएकाले मेट्रोरेल आवश्यक नदेखिएको प्रतिक्रिया दिँदै आएका पनि छन्।
स्थानीय सरकारका रुपमा काठमाडौँ महानगरको कार्यक्षेत्रमा मात्र मेट्रोरेल सञ्चालन पर्दैन। यो संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रेल विभागले पनि काठमाडौंमा मेट्रोरेलको सम्भावना र अध्ययनको काम गर्दै आइरहेको छ।
पूँजी स्रोतको सुनिश्चितता नगराई मेट्रोरेल सञ्चालनसम्बन्धी बनाएको योजनाले खास अर्थ नराख्ने भएकाले रेल विभागमा महानिर्देशकका रुपमा भित्रिएका रोहितकुमार बिसुवालले आउने बित्तिकै अध्ययन प्रतिवेदन र ठेक्कासमेत रद्द गरिदिएका थिए।
‘मैले त्यतिबेला नै उपलब्धिमूलक नहुने देखेर मेट्रोरेल सञ्चालनसम्बन्धी अध्ययन र ठेक्का अन्त्य गरिदिएको हुँ। बढी खर्चिलो पनि हुने पूँजी स्रोत जुटाउन नसकिने अवस्थाले यो निर्णय गरिएको हो’, उनले नेपाल क्लिक्ससँग भने, ‘यसअघि नै विभिन्न समयमा अध्ययन भइरहेको र अध्ययन प्रतिवेदन नबनेका होइन।’
मेट्रोरेलका लागि अध्ययन प्रतिवेदन बन्ने तर त्यसअनुसार काम नहुने भएपछि त्यस्ता अध्ययनको अर्थ नहुने उनको भनाइ छ। काठमाडौंमा मेट्रोरेल सञ्चालनको योजना स्थगित नै भएको बिसुवालको भनाइ छ।
कहाँ भयो अध्ययन?
काठमाडौं उपत्यकाका विभिन्न ठाउँ र क्षेत्रमा मेट्रोरल सञ्चालनका लागि विभिन्न समयमा अध्ययनहरु भए।
यसअघि लगानी बोर्डले वि.सं २०७५ मा सम्पन्न भएको लगानी सम्मेलनमा काठमाडौंका विभिन्न क्षेत्रमा मेट्रोरेल सञ्चालन गर्न सकिने उल्लेख गरेको थियो।
उसले सातदोबाटो–रत्नपार्क–नारायणगोपालचोकसम्म १२ किलोमिटरमा मेट्रोरेल सञ्चालनका लागि प्रस्ताव गरिएको थियो। त्यस्तै, किर्तिपुर–कालिमाटी–बानेश्वर–एयरपोर्टसम्मको ११.५ किमीको जमिनमाथिको रुटमा ९ वटा स्टेसन रहने गरी मेट्रोरेल सञ्चालनको प्रस्ताव गरिएको थियो।
यता, कोटेश्वर–चाबहिल–स्वयंम्भूनाथ–कोटेश्वरसम्मको २८.५ किमीको रुटमा १७ वटा चढ्ने–ओर्लनले स्टेसनसहित मेट्रोरेलको अध्ययन गरी लगानी सम्मेलनमा शो–केशमा राखिएको थियो।
त्यस्तै, स्वयंम्भूनाथ–डिल्लीबजार–बौद्धसम्म र धोबिघाट–सिंहदरबार–नक्साल–गोगंबुसम्म रुटमा पनि मेट्रोरेल सञ्चालनका लागि उपयुक्त देखिएकाले लगानी सम्मेलनमा प्रस्ताव गरिएको थियो।
यसरी विभिन्न ५ ठाउँहरुमा मेट्रोरेल सञ्चालनका लागि अध्ययन कार्य भइरहेको छ। २०७५ मा सम्पन्न लगानी सम्मेलनमा काठमाडौंमा मेट्रोरेल सञ्चालनका लागि साढे ३ खर्ब रुपैयाँको परियोजना प्रस्ताव गरिएको थियो।
काठमाडौं महानगरपालिकाले पनि माथि उल्लेखित विभिन्न ५ ठाउँहरुमा विभिन्न समयमा पूर्वसम्भाव्यता अध्ययन र विस्तृत डिजाइन प्रतिवेदन(डीपीआर) निर्माणका लागि समेत काम गर्दै आएको छ।
रेल विभागले पनि काठमाडौंमा मेट्रोरेल सञ्चालनको सम्भावना र पूर्वसम्भाव्यतालगायतका काम गर्दै आएको छ।



