काठमाडौं- मुगुको छायाँनाथ रारा नगरपालिका–६ मुन्दु गाउँमा भएको सामूहिक हत्या प्रकरणका पीडित परिवारले घटनामा संलग्न व्यक्तिलाई कानुनी प्रक्रियामा नल्याएसम्म शव बुझ्न अस्वीकार गरेका छन्।
हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले सार्वजनिक गरी कानुनी प्रक्रियामा नल्याएसम्म उनीहरुले शव नबुझ्ने बताएका हुन्।
कात्तिक ८ गते राति परिवारका चार जनाको हत्या भएको थियो।
श्रीदेवी बोहोरा, सातमहिने छोरा रहर, ८ वर्षीया छोरी अप्सरा भनिने छिता बोहोरा र ११ वर्षीय छोरा मनोजको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो।
हत्या गरिसकेपछि घरको मूलढोकामा ताला लगाइएको पाइएको थियो। घटना दुई दिनपछि गाउँलेले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए।
घटना भएको ६ दिन बितिसक्दा समेत प्रहरीले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न सकेको छैन। मृतक श्रीदेवीका पति दीपक बोहोराले घटनामा संलग्न व्यक्ति वा समूहलाई कानुनी प्रक्रियामा नल्याएसम्म शव नबुझ्ने बताए।
पोस्टमार्टमपछि पनि शव अस्पतालमै छ। प्रहरीले आश्वासनबाहेक केही काम नगरेको दीपकको गुनासो छ।
हत्यामा संलग्नलाई कानुनी प्रक्रियामा नल्याउँदासम्म दाहसंस्कार गर्न नसक्ने भन्दै मृतक महिलाका काका खेम रावलले सदरमुकाम गमगढी जोड्ने सबै सडक यातायाता तथा हवाई यातायात समेत अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी दिएका छन्।
घटनाको जानकारी पाएपछि पिना प्रहरी चौकी र प्रहरी कार्यालयबाट प्रहरी टोली पुगेको थियो।
कात्तिक ११ गते नेपालगन्जबाट तालिमप्राप्त कुकुर र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, जुम्ला अधिकृत सहितको बिशेष टोली समेत घटनास्थल पुगेर अनुसन्धान गरिरहेका छन्।
घटनाबारे बुझ्न कर्णाली प्रदेश प्रहरी प्रमुख भीमप्रसाद ढकाल पनि घटनास्थल पुगेका थिए। उनले अनुसन्धानमा खटिएका प्रहरीलाई संलग्न व्यक्तिलाई छिटो नियन्त्रण लिई कानुनी प्रक्रिया ल्याउन भनेका थिए।
जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले आवश्यक सबै प्रक्रिया अपनाएर अनुसन्धान भइरहेको बताए। ढिलो चाँडो घटनामा संलग्न व्यक्तिलाई कानुनी प्रक्रियामा ल्याएर छाड्ने उनको भनाइ छ। यसका लागि स्थानीय समुदायले पनि सहयोग गर्नुपर्ने उनले बताए।


