विराटनगर- विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको पहलमा विराटनगर–१२ की ४६ वर्षीया मायादेवी सहनीको उपचार सुरू भएको छ।
मेयर कोइरालाको पहलपछि पाँच महिनादेखि ओछ्यानमै थलिएकी सहनीको सोमबारबाटै कोशी अस्पतालमा निःशुल्क उपचार सुरू भएको हो।
सहनीको विराटनगर–१२ मंगलबारे हटियादेखि दक्षिणमा सडक छेउको ऐलानी जग्गामा फुसको घर छ। आर्थिक अभावका कारण उपचार नपाएर घरमै थलिएकी सहनीको घर मेयर कोइराला चिकित्सक र स्वास्थ्यकर्मीसहित पुगेका थिए।
सहनीको स्वास्थ्य अवस्था बुझेपछि मेयर कोइरालाले तत्कालै स्वास्थ्य महाशाखाका प्रमुख हैदर अलीलाई उपचारको प्रबन्ध मिलाउन निर्देशन दिएका थिए। गर्दनको नशा च्यापिएर गम्भीर बिरामी भएकी सहनी चटपटाउनसमेत सक्दिनन्।
गत असार २० गते घाँस काट्न नजिकैको खेतमा गएकी सहनीको घाँसको भारी बोक्ने क्रममा गर्दनको नशा च्यापिएको थियो। सिकिस्त बिरामी भएपछि विराटनगरका विभिन्न अस्पतालमा उनको उपचार गराइएको थियो।
तर पछिल्लो समय उपचार खर्चको अभाव भएपछि उनी घरमै थलिएकी थिइन्। लगातार ओछ्यानमै थलिएपछि उनको शरीरका विभिन्न भागमा घाउ निस्किएर कुहिँदै गएको थियो। बिरामीका श्रीमान रोहित सहनी ठेला चलाएर परिवारको परिवारको जीविकोपार्जन गर्दै आएका छन्।
बिरामीको हालत दिनदिनै गम्भीर हुँदै गएपछि श्रीमान रोहित सहनी श्रीमतीको ज्यान जोगाइदिन भन्दै आइतबार महानगरपालिकालाई गुहार्न पुगेका थिए। सहनी परिवारको अवस्था बुझेपछि मेयर कोइराला स्वास्थ्य महाशाखा प्रमुख हैदर अलि र चिकित्सकको टोली लिएर सोमबार बिहानै सहनीको घर पुगेका थिए।
सहनीको उपचारमा कुनै कमी हुन नदिने मेयर कोइरालाले प्रतिबद्धतासमेत व्यक्त गरे। खाद्यन्नसमेत समस्या देखिएपछि सहनी परिवारलाई खानको समेत व्यवस्था गर्ने उनले बताए।
बिरामीलाई स्पानइल कर्ड इन्जुरीको समस्या रहेको र यसप्रकारको बिरामीलाई राज्यका तर्फबाट उपचारका लागि १ लाख र मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्थाअनुसारको सुविधाहरू उपलब्ध गराइने स्वास्थ्य महाशाखा प्रमुख अलिले बताए।
मेयरको निर्देशनपछि महानगरको एम्बुलेन्समा राखेर बिरामी सहनीलाई कोशी अस्पताल पुर्याइएको थियो।


