काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिण-पूर्वी एसियाको क्षेत्रीय निर्देशक छान्नका लागि चुनाव बुधबार हुँदैछ। भारतको नयाँदिल्लीमा दक्षिण-पूर्वी एसियाको क्षेत्रीय कमिटी (सेरो)को बैठकले क्षेत्रीय निर्देशक चयन गर्ने छ।
डब्लुएचओ सेरो निर्देशका लागि नेपाल र बंगलादेशका उम्मेदवार छन्। नेपालका शम्भुप्रसाद आचार्य र बंगलादेशको उम्मेदवार साइमा वाजेद उम्मेदवार हुन्। वाजेद प्रधानमन्त्री शेख हसिनाकी छोरी हुन्।
डब्ल्यूएचओ सेरोमा नेपाल, भारत, भुटान, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोर लिस्टे (पूर्वी टिमोर) गरी ११ देश सदस्य छन्। यी देशका स्वास्थ्य मन्त्रीहरुले मतदान गरेर वा सहमतिबाट नयाँ निर्देशक चयन गर्नेछन्। सेरोको अध्यक्ष भने ११ सदस्य राष्ट्रका स्वास्थ्यमन्त्री पालैपालो अध्यक्ष हुने व्यवस्था छ।
यसपटकको चुनावमा म्यानमारले भने मतदान गर्न पाउने छैन। म्यानमारमा सैनिक शासन भएको र त्यसलाई संयुक्त राष्ट्रसंघले मान्यता नदिएकाले उसले मताधिकार पनि गुमाएको छ।
यसैबीच १४ जना विश्व प्रतिष्ठित स्वास्थ्य विशेषज्ञहरुले संयुक्त विज्ञप्ति जारी गर्दै सार्वजनिक गर्दै डब्ल्यूएचओको सेरो सदस्य राष्ट्रहरुलाई क्षेत्रीय निर्देशक चयन गर्दा राजनीतिभन्दा टाढा रहन अपिल गरेका छन्। संयुक्त अपिल जारी गर्नेहरुमा संयुक्त राष्ट्रसंघका पूर्वसहायक महासचिव तथा युनिसेफका उपकार्यकारी निर्देशक डा. कुलचन्द्र गौतम, भारतका पूर्वस्वास्थ्य सचिव सुजाथा राव, सिड्नी विश्वविद्यालयको स्कुल अफ पब्लिक हेल्थका सेई अबिम्बोला, डब्ल्यूएचओ सेरोका पूर्व निर्देशक डा. स्वरुप सरकार लगायत छन्।
दक्षिण-पूर्वी एसिया क्षेत्रमा विश्वको जनसंख्याको २६ प्रतिशत छ। विश्वका क्षयरोगीमध्ये ४६ प्रतिशत यस क्षेत्रमा छन्। यही क्षेत्रमा नसर्ने रोगबाट पनि बर्सेनि ८५ लाख मानिसहरुको मृत्यु पनि हुने बताइएको छ।
‘सरल शब्दमा भन्नुपर्दा डब्ल्यूएचओ सेरो क्षेत्रीय निर्देशक पदका लागि सक्षम र अनुभवी नेतृत्व छनोट गरेर डब्ल्यूएचओलाई बलियो बनाउनु हाम्रो क्षेत्र भित्रका लाखौं मानिसहरुको जीवन र मृत्युको विषय हो,’ उनीहरूको विज्ञप्तिमा उल्लेख छ।


