काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको रिटमाथि बुधबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा मंगलबारका लागि पेसी तोकिए पनि उनले हेर्न नमिल्ने बताएपछि बुधबारका लागि सुनुवाइ सारिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए।
रास्वपाका सभापति लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले गरेको निर्णय बदर गर्न माग गर्दै आइतबार दायर गरेको रिट निवेदन सोमबार दर्ता भएको थियो। त्यसपछि मंगलबारका लागि पेसी तोकिएपनि पहिलो सुनुवाई बुधबार सरेको छ।
अधिवक्ता युवराज पौडेल ‘सफल’ले लामिछानेविरुद्ध सोमबार दर्ता गरेको रिट निवेदनमा राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएको उल्लेख गर्दै उक्त निर्णय बदर गर्न माग गरिएको छ।
यसअघि नै उनले प्रक्रियागत रूपमा नेपाली नागरिकता नलिएको उल्लेख गर्दै हालेको रिटमाथि सुनुवाई गर्दै लामिछानेले अमेरिकी नागरिकता लिनासाथ नेपाली नागरिक खारेज भएको फैसला सुनाएको थियो। उक्त फैसलासँगै लामिछानेको सांसद र मन्त्री पद गुमेको थियो। सांसद र मन्त्री पद गुमेपछि लामिछानेले जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता लिएका छन्।
अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट बनाएको आरोप लामिछानेमाथि छ। उक्त आरोपमाथि छानबिन गरी मुद्दा चलाउनुपर्नेमा उन्मुक्त दिन खोजिएको भन्दै सफलले रिट दर्ता गराएका थिए।
महान्यायाधिवक्ता डा पोखरेलले यही चैत ६ गते लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरेका थिए। जिल्ला सरकारी वकिलको कार्यालय हुँदै उच्च सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदन र महान्यायाधिवक्ता कार्यालयको टिप्पणीको आधारमा महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गरेका थिए।
वैशाख १० मा हुने उपनिर्वाचनमा रवि चितवन-२ बाटै उम्मेदवार बनेका छन्। उनी विरुद्ध चार उजुरी परेको निर्वाचन कार्यालयले जानकारी दिएको छ।


