काठमाडौं – पेरिस ओलम्पिक छनोटअन्तर्गत आज नेपाली महिला फुटबल टिमले राजधानीको दशरथ रंथशालामा भियतनाम महिला टिमको सामना गर्दैछ। साँझ छ बजे सुरु हुने खेलमा नेपालले पाहुना टिमको सामना गर्न लागेको हो।
खेलअघि आयोजित पत्रकार सम्मेलनमा नेपाली टिमका प्रशिक्षक अनन्तराज थापाले दोस्रो चरणमा पुग्न उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन्। उनले भने, ‘बलियो विपक्षीविरुद्ध खेल्न गइरहेका छौं। उसले त विश्वकप पनि खेल्दैछ। साथै वरियतामा पनि हामीभन्दा अघि छ।’
उनले अगाडि भने, ‘हाम्रो टिममा पनि राम्रा खेलाडीको कमी छैन। एक महिनाको तयारीले सहयोग पनि मिलेको छ। राम्रो प्रदर्शन र सुखद नतिजाको आशा छ।’ उनले यो खेलले नेपालको टेस्ट हुने पनि बताएका छन्।
भियतनामले अर्को वर्ष हुने फिफा महिला विश्वकपमा एसियाको प्रतिधिनित्व गर्नेछ। यता, ऊ फिफाको विश्व वरियताको ३३ औं स्थानमा छ। नेपाल भने वरियताको सयौं स्थानमा रहेको छ।
यसकारण भियतनामलाई मनिटर गरिरहेको छ र उसको मूख्य खेलाडीबारे हेरिरहेको पनि प्रशिक्षकले बताएका छन्। अर्को चरणमा पुग्ने लक्ष्य लिएको कारण राम्रो प्रदर्शन गर्ने अनन्तको विश्वास छ।
यि दुई टोली समूह सीमा रहेका छन्। यो समूहमा अफगानिस्तान र प्यालेस्टाइन पनि रहेका थिए। तर ति दुई टोलीले नाम फिर्ता लिएपछि नेपालले एकमात्र विपक्षी टिम पाएको हो।

अब यि नै दुई टिमबीच दुई खेल हुनेछ र विजेता टिमले दोस्रो चरणमा स्थान बनाउने छ। नेपाली राष्ट्रिय टिमकी गोलकिपर एवम् कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले पनि जितको लक्ष्य राखेको बताएकी छन्।
उनले भनिन, ‘वरियताले त्यस्तो प्रभाव पार्दैन। हामी जितको लागि नै खेल्नेछौं। अन्तिमसम्म फाइट गर्ने हो,’ उनले भनिन्। यता पाहुना टिम भियतनामका मूख्य प्रशिक्षक माई डक चुङले घरेलु टिम राम्रो रहेको कारण खेल प्रतिस्पर्धात्मक हुने दाबी गरेका छन्।
उनले नेपालसँग पहिले नखेलेको बताउँदै अहिले खेल्न मात्र नभएर प्रतिस्पर्धा गर्न आएको कारण राम्रो खेल प्रस्तुत गर्ने बताएका छन्।


