काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र संकटमुक्त भइसके पनि दवावमुक्त हुन नसकेको बताएका छन्।
अर्थतन्त्रको दवाव हटाउन राष्ट्रिय गोलमेचको तयारी भइरहेको समेत उनको भनाइ छ।
बुधबार दिउँसो माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित उपत्यकाका केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अर्थतन्त्रको दवाव हटाउनु सरकारको मुख्य प्राथमिकता भएको बताएका हुन्।
‘हामीले सरकारको नेतृत्व गर्ने बेला अर्थतन्त्र निकै अप्ठ्यारो अवस्थामा थियो। तर, सरकारको मेहेनतका कारण अर्थतन्त्र संकटमुक्त भएको छ। विदेशी मुद्राको सञ्चिति, राजश्व संकलन र परिचालन, पर्यटक आगमन, विप्रेषण लगायतका क्षेत्रका सूचक हेर्दा हामी प्रगतितिरै छौं,’ उनले भने, ‘तर, अर्थतन्त्र अझै पनि दवावमुक्त भइसकेको छैन। अर्थतन्त्रको दवाव हटाउने कुरा हाम्रा लागि सबैभन्दा ठूलो कार्यभार हुन आएको छ।’
सामान्य वा टालटुले तरिकाले अर्थतन्त्रको दवाव नहट्नेमा आफूलाई राम्रोसँग हेक्का भएको उनको भनाइ थियो। ‘तसर्थ नेपाल सरकारका सबै मन्त्रीहरू, सचिवहरू, निजी क्षेत्रका प्रतिनिधिहरू र आर्थिक क्षेत्रका विज्ञहरूको बृहत बैठकको आयोजना गर्छौं। मैले नै त्यसको अध्यक्षता गर्छु,’ उनले भने, ‘उक्त अन्तरक्रियाको निष्कर्षलाई कार्ययोजनामा ढाल्न विज्ञहरूको टीम बनाएर सोही बमोजिम नीति र कार्यक्रम बनाउँछौँ।’
प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्रका विरूद्ध षड्यन्त्र भइरहेको भन्दै १२ बुँदे समझदारी, शान्ति सम्झौता र संविधान निर्माणका पक्षधर शक्तिहरू एकठाउँ उभिएर त्यसलाई परास्त गरिने बताए।


