काठमाडौँ- आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र ओमानबीचको खेलमा पहिले नेपालले फिल्डिङ गर्ने भएको छ।
टस जितेको नेपालले फिल्डिङ रोजेपछि ओमन ब्याटिङमा जाने भएको हो।
विश्वकप टी-२० एसिया छनोटकै खेलमा यसअघि नै नेपालले सिंगापुर र मलेसियालाई पराजित गरेकोछ। यो प्रतियोगितामा नेपालको अन्तिम खेल ओमानसँग हुन गइरहेको हो।
बिहान ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेला सुरु हुने छ।
समूह ‘ए’ मा लगातार दुई खेल जितेर सेमिफाइनल पुगिसकेका नेपाल र ओमानबीचको आजको खेलले समूह विजेताको बन्ने भन्ने निर्धारण गर्नेछ।
पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। यस्तै ओमानले मलेसियालाई ३२ रन र सिंगापुरलाई २२ रनले पराजित गरेको थियो।
यी दुई खेलसहित बिहीबार समूह चरणका बाँकी चार वटै खेल हुनेछ र त्यसपछि सेमिफाइनल पुग्ने बाँकी दुई टिम र सेमिफाइनल समीकरण पनि टुङ्गो लाग्नेछ ।


