काठमाडौँ- नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतम सरकारको नीति तथा कार्यक्रम र बजेटसम्बन्धीका छलफलमा सक्रियताका साथ सहभागी हुन्छिन्। लामो छलफल हुने तर दिइएका सुझाव सम्बोधन नहुने र परिणाम नदिने पुरानो ढर्रा कायमै रहेको उनको अनुभव छ। यसलाई परिमार्जन गर्न आवश्यक भएको भन्दै उनले आवाज उठाउँदै आएकी छन्।
देश, जिल्ला, निर्वाचन क्षेत्र र जनताका प्राथमिकता एवं आवश्यकताका विषयमा जनप्रतिनिधिले दिने सुझाव नसमेटिने बहसको औचित्य नहुने उनको भनाइ छ।
‘संसदमा यो मेरो पहिलो प्रवेश हो। आफ्ना कुरा राख्ने विषयमा सबैको प्रस्तुति प्रभावकारी देखिन्छ। यसपटक विधेयक निर्माणको काम भने धेरै हुन सकेन। कतिपय विधेयक रेडिमेड आए, संशोधनमार्फत जानुपर्ने देखियो,’ गौतम भन्छिन्।
नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा थालेकी गौतमसँग यसअघि पद्मकन्या क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सभापति र सङ्घको महामन्त्री भइ काम गरेको अनुभव छ।
विभिन्न सामाजिक कार्यमा समेत संलग्न गौतम हाल नेपाली कांग्रेस केन्द्रीय सदस्यसमेत हुन्। जतिसुकै प्रदेश र स्थानीय तह भए पनि विकास निर्माणका विषयमा मतदाताको सङ्घीय सांसदसँग नै बढी अपेक्षा रहेको उल्लेख गर्दै उनले सांसदको कानुन निर्माणमा केन्द्रित हुने मुख्य जिम्मेवारीबारे आफूहरूले मतदातालाई बुझाउन नसकेको तथ्य स्वीकार गरिन्।
‘लामो समयसम्म स्थानीय तह जनप्रतिनिधिविहीन रहनुपरेका बेला विकास निर्माणसहित सम्पूर्ण जिम्मेवारी सांसदले लिएको अनुभव हामीसँग छ,’ उनले भनिन्, ‘त्यसैले भोट माग्न जाँदा मतदाताले उठाएका समस्या सम्बोधन गर्नुपर्ने बाध्यता हामीलाई छ, यो व्यवहारिक पनि हो।’
मुख्य जिम्मेवारीमा रहेका सदन र संसदीय समितिका महत्त्वपूर्ण बैठक र छलफलसमेत छाडेर जनताले उठाएका विकास निर्माणका काममा दौडनुपरेका अनुभव सुनाउँदै सांसद गौतमले बजेट बनाउँदा जनप्रतिनिधिका सुझाव र सल्लाह नलिँदा त्यो स्थिति आएको प्रतिक्रिया दिइन्।

जनताको काम हुन नसकेन चुनावमा जनसहभागिता कमजोर हुने उनको भनाइ छ। मतदाताले उठाएका व्यावहारिक विषय सम्बोधन नगरिए चुनावमा जान गाह्रो हुने भय उनमा छ। ‘सङ्घीय सांसदले कानुन बनाउने र नीतिगतरूपमै काम गर्ने हो भन्नेबारे सबै राजनीतिक दलले मतदातालाई बुझाउन आवश्यक छ,’ उनले भनिन्।
फरक प्रसङ्गमा गौतमले राष्ट्र र जनतालाई भन्दा मिडियालाई लक्ष्य गरी आमसभामा बोलेझैँ सदनमा हुने प्रस्तुतिले संसद् र जनप्रतिनिधिको ओज कमजोर तुल्याएको प्रतिक्रिया दिइन्।
कतिपय पूर्वप्रधानमन्त्रीले घन्टौँ ‘रसविहीन’ भाषण दिनाले दिक्दारी तुल्याउने गरेको प्रसङ्ग उदाहरण दिँदै सांसद गौतमले भनिन्, ‘कतिपय युवा पुस्ताका नवप्रवेशीले समेत मै मात्रै हुँ भन्ने घमण्डसहितको प्रस्तुति दिनाले पनि सांसद र सदनको गरिमा घटाएको छ।’
संविधानले राज्यका हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको उल्लेख गर्दै सांसद गौतमले अवसर प्रदान गर्ने सवालमा अझै पनि राजनीतिक नेतृत्वमा पुरानो मानसिकता र पुरुषवादी भावनाले काम गरेको देखिने अनुभूति सुनाइन्।
भ्रष्टाचारविरुद्धका आवाज बुलन्द गरेसँगै झनै चुलिँदै जाने विषय स्यालको कथाजस्तै सत्य र तथ्य भएको बताउँदै उनले क्यान्सरका रूपमा भ्रष्टाचार बढ्नु छिटो धेरै पैसा कमाउन समाजका सबै क्षेत्र एवं तह र तप्कामा रहेको भावनाको परिणाम भएको प्रतिक्रिया दिइन्।
कानुन बनाएर मात्र नभई मनभित्रैबाटै ‘म भ्रष्टाचार गर्दिनँ’ भन्ने प्रतिबद्धता आवश्यक रहने धारणा उनले राखिन्। सांसद गौतमले सुन प्रकरणलगायत घटना उजागर भएसँगै अब केही हुन्छ भन्ने लागेको तर अनुसन्धान गर्ने निकायको गहिरो अनुसन्धान र प्रतिबद्धता नभएसम्म भ्रष्टाचार निर्मूलीकरणको विषय चुनौतीकै रूपमा रहने विचार प्रकट गरिन्।
समाजमा सकारात्मक चेत हराउँदै गएको र पछिल्लो समय सामाजिक सञ्जाल तथा मिडियाले पनि नकारात्मक पक्षलाई नै प्राथमिकतामा राखेकाले विकृति बढिरहेको विचार उनले राखिन्।
‘सामाजिक सञ्जालबाट प्रस्तुत भइरहेका कतिपय विषय सत्यतथ्यमा आधारित नभई मिथ्या र भ्रमपूर्ण छन्,’ उनले भनिन्, ‘समाजलाई गलत र नकारात्मक बाटामा हिँडाउन एउटा तत्व सक्रिय देखिन्छ, यसलाई रोक्नका लागि सकारात्मक सन्देश प्रवाह गर्न आवश्यक छ।’
सामाजिक सद्भाव र शान्ति सुरक्षामा खलल तुल्याउने भ्रमपूर्ण समाचारलाई रोकेर सही समाचार सम्प्रेषण गर्नेतर्फ सबैको जोड आवश्यक रहेको सांसद गौतमले बताइन्।
लामो सङ्क्रमणकालको असर तथा बेरोजगारी, गुणस्तरहीन शिक्षा तथा पारिवारिक सम्बन्ध र सम्पर्कले पनि विद्यार्थी र युवालाई विदेश पलायन हुन बल पुर्याएको विचार प्रकट गरिन्।
‘हामी कर्मयोगी पनि हुनुपर्छ, गाउँ खाली छ, कुटोकोदालो नगर्ने भइयो, गाउँका नागरिक सहर, सहरका विदेश जाने प्रवृत्ति बढेको छ, गाउँमै जीवन भर्ने कर्मयोगीको खडेरी छ,’ उनले भनिन्।
मुलुकका जल्दाबल्दा राष्ट्रिय विषयमा सत्तापक्षलगायत सबैको साझा धारणा र प्रतिबद्धताको खाँचो औँल्याइन्। ‘तपाईँहरू स्वदेशमै बस्नुपर्छ, उद्योग खोल्छौँ, रोजगारी दिन्छौँ, माग पूरा गर्र्न कोसिस गर्छौँ, सरकार स्थिर हुन्छ भनी विश्वास दिलाउने काम तत्काल सुरु गर्नुपर्छ,’ सरकारलाई उनको सुझाव छ। -रासस


