काठमाडौँ- जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पमा परी ७२ जनाको मृत्यु भएको छ। जाजरकोट र रुकुम पश्चिममा मात्र यो संख्यामा मृत्यु भएको सम्बन्धित जिल्लाका प्रहरी कार्यालयले जानकारी दिएका हुन्।
रातको समयमा आएको भूकम्पमा परी जाजरकोटमा ३६ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका डीआईजी भीमप्रसाद ढकालले जानकारी दिए। रातिको समय भएकाले थप विवरण संकलन गर्न कठिनाइ भइरहेको उनले बताए।
रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको तथ्यांक प्राप्त भएको डीएसपी नमराज भट्टराईले बताए। ‘३६ जनाको मृत्यु भएको र ५३ जना घाइते भएको विवरण प्राप्त भएको छ,’ उनले भने, ‘थप विवरण प्राप्त हुने क्रम जारी छ।’
शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यहाँ परकम्पहरू जाने क्रम जारी रहेको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ। रातको समयमा शनिबार बिहान १२:०८, १२:२९, १२:३५ क्रमश: ४.८,४.२, ४.३ म्याग्निच्युडका भूकम्प गएका थिए।
भूकम्पको क्षतिको विवरण प्राप्त हुने क्रम जारी छ। घाइतेको उद्धारका लागि हेलिकोप्टर पठाउने तयारी भइरहेको गृह मन्त्रालयले जानकारी दिएको छ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रभावित क्षेत्रको भ्रमणमा जाने भएका छन्।


