काठमाडौं – पश्चिम नेपालमा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण १२८ जनाको मृत्यु भएको छ।
शनिबार बिहान प्राप्त विवरणअनुसार जाजरकोटमा ९२ र रुकुमपश्चिममा ३६ जनाको मृत्यु भएको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जानकारी दिएको हो।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले भने, ‘अहिलेसम्म जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको विवरण आएको छ।’
उनका अनुसार भूकम्पमा परी घाइते भएका १४० जनाको विवरण प्रहरीलाई प्राप्त भएको छ। तीमध्ये जाजरकोटका ५५ जना र रुकुमपश्चिमका ८५ जना हुन्।
घाइतेहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।
‘सयौं घरहरू भत्किएका छन्, उद्धार कार्यमा प्रहरी जुटेको छ,’ कडायतले भने।
चौरजहारी बेश क्याम्पबाट राति नै टोली गएको छ। सुर्खेतबाट बिहान नै भूकम्प प्रभावित क्षेत्रमा हिँडेको उनले बताए।
शुक्रबार राति ११:४७ मा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।


