काठमाडौँ- शुक्रबार राति ११:४७ मा जाजरकोट जिल्लालाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।
भूकम्पको केन्द्रबिन्दु जाजरकोटको बारेकोट गाउँपालिका हो।
बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरी भूकम्प गएदेखि नै आफ्नो पालिकाभरि घुमिरहेका छन्।
उनका अनुसार यो पालिकामा ९ वटा वडा छन्। तीमध्ये १ र २ नम्बर वडामा बढी क्षति पुगेको छ।
तर, मानवीय क्षतिको विवरण छैन। उनका अनुसार बिहानसम्ममा एक दर्जन व्यक्ति घाइते भेटिएका छन्। उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।
‘भौतिक क्षति ठूलो छ, तर मानवीय क्षति अहिलेसम्म प्राप्त भएको छैन,’ उनले भने।
उनका अनुसार घरहरू कुनै सग्ला छैनन्, धेरैजसो भत्किएका छन्। स्कुल, स्वास्थ्य संस्थालगायत सरकारी भवनहरू भत्किएका छन्।
‘ठाउँ-ठाउँमा सडक भासिएको छ, १ र २ नम्बर वडामा बढी नै क्षति छ,’ उनले भने, ‘कति घर भत्किए विवरण संकलनमै छौं।’
भूकम्प गएपछि प्रहरी, स्थानीय युवालगायतको टोली बनाएर आफू मोटरसाइकलमा सबै वडामा पुगेको उनले बताए।
बारेकोट गाउँपालिकाको प्राय अधिकांश भाग उच्च पहाडी भू-भागले ढाकेको छ।


