काठमाडौं – जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका घाइतेको उपचारका लागि भेरी अस्पताल नेपालगञ्जलाई डेडिकेटेड अस्पताल बनाइएको छ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार घाइतेको उपचारका लागि बाँके प्रशासनले आवश्यक तयारीस्वरुप उक्त अस्पताललाई डेडिकेटेड अस्पताल तोकेको हो।
भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालका १०५ बेड तयारी अवस्थामा राखिएको छ।
यस्तै, कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको पोखरेलले बताए।
ती अस्पतालमा पर्याप्त मात्रामा डाक्टर, नर्सिङ अस्पताल र लजिस्टिक सपोर्टको प्रवन्ध मिलाइएको छ।
हेलिकप्टरबाट आउने बिरामीलाई राँझा विमानस्थल र आर्मीको हेलिप्याडमा दुई-दुई वटा एम्बुलेन्स तैनाथ गरिएको पोखरेलले बताए।
घाइतेहरूलाई आवश्यक पर्ने रगतको मौज्दात राखिएको र अपुग भएमा रगत आपूर्तिको लागि रक्तदाता सुरक्षाकर्मीको व्यवस्था मिलाइएको छ।
व्यक्तिगत पहलमा उपचारका लागि आउने घाइतेहरूका आफन्तको सहजताको लागि प्रशासनले फोकल पर्सन तोकेको छ। उपचारमा आउनेहरूले नरेश श्रेष्ठलाई ९८५११४३६६६ मा सम्पर्क गर्न सक्नेछन्।


