काठमाडौँ- शुक्रबार राति ११:४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु भएका तथा घाइतेको उद्धारका लागि ८५० उद्धारकर्मी परिचालन गरिएको छ।
नेपाल प्रहरीले बिहान ८ बजेर १५ मिनेटमा अद्यावधिक गरिएको विवरणअनुसार जाजरकोट र रुकुमपश्चिमलाई आधार बनाएर उद्धारकर्मी परिचालन गरिएको जानकारी दिएको हो।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतका अनुसार रुकुम पश्चिममा ३२० प्रहरी उद्धारका लागि परिचालन गरिएको छ। यस्तै जाजरकोटमा ४५० प्रहरीलाई उद्धारकर्मी बनाएर प्रभावित स्थान खटाइएको छ।
कर्णाली प्रदेश प्रहरी गण सुर्खेतबाट ३६ जनाको टोली जाजरकोट पठाइएको कडायतले जानकारी दिए। यस्तै रुकुम चौरजहाजरी बेसक्याम्पबाट १० जनाको टोली रुकुम पश्चिम र १० जनाको टोली जाजरकोटका लागि प्रस्थान गरिसकेको समेत उनले जानकारी दिए।
यसैगरी प्रहरीका डीआईजी डा गोपेश ठाकुरको कमान्डमा ११ जनाको मेडिकल टोली र सेनाको ११ जनाको उद्धार टिम पनि खटिएको छ।
उद्धार, उपचार र राहतका लागि स्वास्थ्यकर्मी, उद्धारकर्मी र राहत सामग्री लिएर नेपाली सेनाका तीन हेलिकप्टर परिचालन भएका छन्।

नेपाल वायु सेवा निगमको एक जहाज र कर्णाली सरकारले एक जहाजलाई प्रभावित क्षेत्रमा खटाएका छन्।
प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार औषधि, स्वास्थ्यकर्मी र राहत सामग्री लिएर सेनाको स्काई ट्रक र स्वास्थ्यकर्मी लिएर अर्को हेलिकप्टर जाजरकोट पुगेको छ। सेनाको अर्को एक हेलिकोप्टर रुकुम पश्चिमका लागि खटिएको हो।
त्यस्तै स्वास्थ्य र सामग्रीसहित नेपाल वायु सेवा निगमको ट्विनअटर जहाज चौरहजहारी विमानस्थलमा तैनाथ छ।
कर्णाली प्रदेश सरकारले सुर्खेतबाट स्वास्थ्यकर्मी र औषधि लिएर एक हेलिकोप्टर पठाएको मुख्यमन्त्री राजकुमार शर्माले जानकारी दिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल, ऊर्जामन्त्री एवं जाजरकोटका सांसद शक्ति बस्नेत, रुकुम पश्चिमका सांसद जनार्दन शर्मा उपचार सामग्री र स्वास्थ्यकर्मीसहित प्रभावित क्षेत्र जारकोटमा पुगेका छन्।
सरकारले घाइतको उपचारका लागि चौरजहारी अस्पताल र विमानस्थललाई फोकलस्थल बनाई काम गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
भूकम्पमा परी हालसम्म १२९ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। ९२ जना जाजरकोटमा र रुकुम पश्चिममा ३७ जना भूकम्पमा परी मृत्यु भएको विवरण प्रहरीमा प्राप्त भएको छ।
जाजरकोटमा जम्मा ५५ घाइतेको भेटिएका छन् भने रुकुम पश्चिममा ८५ जना घाइते भएको कडायतले जानकारी दिए। प्रभावित जिल्लाहरूमा उद्धारकार्य जारी रहेको प्रहरीको भनाइ छ।
जिल्ला प्रशासन कार्यालय बाँकेले जाजरकोट भूकम्पका घाइतेको उपचारका लागि बिहान अँध्यारैदेखि तयारी थालिएको जानकारी दिएको छ।
बाँके प्रशासनले घाइतेको उपचारका लागि भेरी अस्पताल नेपालगञ्जलाई डेडिकेटेड अस्पताल बनाएको छ। व्यक्तिगत पहलमा उपचारका लागि आउने घाइतेहरुका आफन्तको सहजताको लागि नरेश श्रेष्ठ (९८५११४३६६६)लाई फोकल पर्सन तोकिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी गराएका छन्।
कोहलपुर मेडिकल कलेजलाई पनि उपचारका लागि तयारी अवस्थामा राखिएको उनले जानकारी दिए। भेरी अस्पताल, सैनिक असपताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयारी अवस्थामा राखिएको छ। उपचारका लागि आवश्यक डाक्टर, नर्स र सामग्रीको प्रबन्ध मिलाइसकिएको पोखरेलले बताएका छन्।
हेलिकप्टरबाट आउने बिरामीको लागि राँझा विमानस्थल र आर्मीको हेलिप्याडमा २/२ वटा एम्बुलेन्स तैनाथ गरिएको बाँके प्रशासनले जानकारी दिएको छ।
उपचारमा रगतको अभाव हुन नदिन दाता सुरक्षाकर्मीको व्यवस्था मिलाइएको पोखरेलले बताए।
पश्चिम नेपालमा उपचारको हब नेपालगञ्ज/कोहलपुर रहेकाले बाँके जिल्लामा पर्ने भएकाले बाँके प्रशासन प्रभावित जिल्लासरह सक्रिय भएको हो।
प्रहरीले उद्धारका लागि सम्पर्क गर्ने परे सम्पर्क व्यक्तिको मोबाइल नम्बर पनि उपलब्ध गराएको छ।



