काठमाडौं – जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण १२९ जनाको मृत्यु भएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतका अनुसार जाजरकोट र रुकुमपश्चिममा गरी १२९ जनाको मृत्यु भएको विवरण प्राप्त भएको हो।
कडायतका अनुसार जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ। रुकुमपश्चिममा ३७ जनाको मृत्यु भएको छ।
उनका अनुसार जाजरकोटमा ५५ जना र रुकुमपश्चिममा ८५ जना घाइते भएका छन्।
घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको कडायतले बताए।
मृतक तथा घाइतेको उद्धारका लागि ठूलो संख्यामा प्रहरी खटाइएको कडायतले जानकारी दिए।
रुकुमपश्चिमबाट डिएसपीको नेतृत्वमा ३२० जना, जाजरकोटबाट डिएसपीको नेतृत्वमा ४५० जना प्रहरी खटिएका छन्।
कर्णाली प्रदेश प्रहरी गण सुर्खेतबाट ३६ जना जाजरकोट, चौरजहारी बेस क्याम्पबाट १० जना रुकुमपश्चिम र चौरजहारी बेस क्याम्पबाट १० जनाको टोली जाजरकोटका लागि खटिएको छ।
डिआइजी डा. गोपेश ठाकुरको नेतृत्वमा ११ जनाको मेडिकल टोली, आर्मीका लेफ्टिनेन्टको नेतृत्वमा ११ जनाको उद्धार टोली आर्मीको एमआई-१७ हेलिकप्टरमा जाजरकोटका लागि गएको छ।
शुक्रबार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।


