काठमाडौँ- भूकम्पप्रभावित क्षेत्रमा नेपाल टेलिकमले निशुल्क सेवा दिने भएको छ। नेपाल टेलिकमको सिमबाट निशुल्क भ्वाइस तथा निशुल्क एसएमएस पठाउन सकिने व्यवस्था गरिएको टेलिकम प्रवक्ता शोभन अधिकारीले जानकारी दिए।
‘सूचना आदान-प्रदानलाई निरन्तरता दिन उक्त क्षेत्रमा रहनुभएका कम्पनीका सम्पूर्ण मोबाइल ग्राहकहरूलाई ५ दिनको अवधिका लागि निःशुल्क भ्वाइस तथा एसएमएस सेवा उपलब्ध गराइएको छ। यसका अतिरिक्त उक्त क्षेत्रमा ५ दिनको अवधिका लागि निःशुल्क भ्वाइस र एसएमएस सेवा सहितको निःशुल्क सिम उपलब्ध गराइनेछ,’ टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
उक्त सिम कम्पनीको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुनेछ। उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकता अनुसार निःशुल्क नमस्ते वाईफाई सेवा उपलब्ध गराइने कम्पनीको दाबी छ।
भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवामा कुनै समस्या नरहेको समेत टेलिकमको दाबी छ।


