काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन्। बुधबार राजधानीमा आयोजित कांग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशनमा महामन्त्री थापाले प्रधानमन्त्री र मन्त्रीहरूको कामप्रति असन्तुष्टि व्यक्त गरे।
‘मलाई त आजभोलि प्रधानमन्त्री र मन्त्रीहरुको समाचार आयो भने रिस उठ्छ त भन्दिनँ, नरमाइलो लाग्छ। फुर्सद कसरी पाउनुभयो भन्ने लाग्छ,’ कांग्रेस महामन्त्री थापाले भने, ‘प्रधानमन्त्री र मन्त्रीहरुले त यो बेलामा फोटो खिच्नुपर्दैन। ३ महिना जति प्रधानमन्त्री र मन्त्रीहरु कसैको पनि टेलिभिजनमा, अनलाइनमा अनुहार नै देख्न नपाए हुन्थ्यो। नराम्रो अर्थमा होइन। हामी छौं नि फुर्सदमा।’
प्रधानमन्त्री र मन्त्रीहरुले युद्धको बेला झैं काम गर्ने हो भने एउटा माहौल सिर्जना गर्न सकिने उनको भनाइ छ।
सरकार कहिले तुना बानेर त कहिले कुर्सी खोजेर बसेकोसमेत उनले टिप्पणी गरे। नागरिकमा भरोसा जगाउन सरकारले दगुर्नुपर्ने उनको भनाइ। यद्यपि सरकारले भने हिँड्न पनि सुरु नगरेको टिप्पणी उनको छ।
राष्ट्रपति, प्रधानमन्त्रीले अत्यावश्यकबाहेक खर्च कटौती सुरु गर्नुपर्ने उनको सुझाव छ। ‘प्रधानमन्त्रीले भन्न सक्नुपर्छ, राष्ट्रपतिले भन्न सक्नुपर्छ, सचिवालयमा १२/१५ जना सल्लाहकार राख्ने सुविधा दिएको छ, म ३ जना वा ५ जना राख्छु’, महामन्त्री थापाले भने, ‘अत्यावश्यक बाहेक खर्च कटौती गर्दैछौं। तर विकास खर्च पहिलाभन्दा सुधार गर्छौं भनेर गयो भने थोरै भएपनि सुधार आउँछ।’


