पोखरा- खोँचमा खसेका एक व्यक्तिको सकुशल उद्धार गरिएको छ। कात्तिक १८ गते साँझ १९:४५ बजेको समयमा खोँचमा खसेका व्यक्तिको उद्धार भएको कास्की प्रहरीले जानकारी दिएको छ।
पोखरा-१५ नयाँगाँउस्थित सेती नेदीको किनारमा धाँजा फाटेको स्थानमा १९ वर्षीय सुदीप विक अचानक खोँचमा परेका थिए।
पर्वत जिल्ला फलेवास नगरपालिका वडा नं.३ घर भई जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १५ नयाँगाँउस्थित दाजुको डेरामा आई बसेका सुदीप खोँचमा खसेलगत्तै प्रहरीलाई सूचना गरिएको थियो।
यसपछि वडा प्रहरी कार्यालय रामबजारबाट ७ जना, गण्डकी प्रदेश प्रहरि गण पोखराबाट ६ जना र सशस्त्र बल नेपाल नं. २४ गण हे.क. कालिकाबाट ११ जनाको टोली परिचालन गरिएको थियो। टोलीले दुई घण्टापछि ९:५५ बजे सुदीपलाई उद्धार गरेको कास्की प्रहरीले जानकारी दिएको छ।
उद्धारपछि उनलाई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पठाइएको छ। उनको शरीरमा सामान्य चोट लागेको छ।


