काठमाडौँ- नबिल बैंकले भूकम्प पीडितलाई एक करोड रुपैयाँ बराबरका राहत सामाग्री उपलब्ध गराउने निर्णय गरेको छ। बैंकले व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत पीडितलाई राहत उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिएको हो।
बैंकको टोली पहिलो चरणका सामग्री बोकेर जाजरकोट पुगिसकेको छ। जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटद्वारा संचालित एकद्वार राहत संकलन र वितरण केन्द्रलाई बैंकको प्रतिनिधित्व गर्दै प्रमुख बजार अधिकृत कृष्ण सुवेदीले सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत हस्तान्तरण गरे।
गत शुक्रबार मध्यरात जाजरकोटलाई केन्द्र बनाएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा पश्चिम नेपालमा ठूलो धनजनको क्षति भएको थियो। प्रभावित क्षेत्रका जनतालाई सहयोग गर्ने नबिल बैंकको आकस्मिक निर्णयसँगै राहत उपलब्ध गराइएको हो।
प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाका अनुसार बैंकले खाद्यन्न, त्रिपाल, ब्लाङ्केट, औषधी लगायतका एक करोड बराबरको राहत सामाग्री उपलब्ध गराउने भएको छ।
‘हामीले भूकम्प प्रभावित क्षेत्रका जनताको घाउमा मलम लगाउन सहयोग पुगोस् भनेर यो राहत उपलब्ध गराएका हौँ, यो हाम्रो सामाजिक उत्तरदायित्व पनि हो,’ ढुंगानाले भने। उनले जाजरकोट र रूकुम पश्चिम दुवै क्षेत्रमा राहत सामग्री उपलब्ध गराउने जानकारी दिए।
राहत सामाग्री बोकेर नबिल बैंकको प्रतिनिधित्व गर्दै प्रमुख बजार अधिकृत सुबेदी तथा रारा क्लस्टर प्रमुख तपेन्द्र कुँवर जाजरकोट पुगेका थिए।


