काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा सुमन पोखरेल नियुक्त हुनु भएका छन्। आइतबार बसेको बैंकको संचालक समितिको बैठकले पोखरेललाई डीसीईओमा नियुक्त गरेको हो।
पोखरेलसँग दुई दशक भन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा काम गरेको अनुभव छ। पोखरेल यसअघि आइएमई ग्रुपको वरिष्ठ उपाध्यक्षको भूमिकामा रही कार्य सम्पादन गरिसकेका छन्।
नेपालको पहिलो रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रही उनले कम्पनीलाई उचाईमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्छ।
नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत पोखरेलले नेपालको सबैभन्दा ठुलो बैंकमा पूनः आबद्ध भई काम गर्ने अवसर प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै बैंकलाई थप सबल र सुदृढ बनाउन आफ्नो भूमिका रहने बताए।
ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको क वर्गको वाणिज्य बैंक हो। ३५२ शाखा, ३६२ एटीएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्रबाट बैंकले सेवा प्रवाह गर्दै आएको छ।


