विराटनगर- नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ।
सोमबार बसेको एमाले कोशी प्रदेशसभा संसदीय दलको बैठकले तत्कालका लागि समर्थन फिर्ता नलिने निर्णय गरेको प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए।
‘सरकारबाट चाहिँ हामी फिर्ता भयौं। विश्वासको मत चाहिँ कायमै राख्ने निर्णय गर्यौं,’ उनले भने।
मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमालेका मन्त्री राम रानाले शनिबार राजीनामा दिएका थिए।
नेकपा एमालेकाे सहयाेगमा कांग्रेसभित्र विद्रोह गरेर केदार कार्की असाेज २७ गते मुख्यमन्त्री बनेका थिए। २८ असाेजमा शपथ ग्रहण गरेका उनले साेही दिन एमालेबाट राम रानालाई मन्त्री बनाएका थिए। कांग्रेसबाट सम्शेर राईलाई मन्त्री बनाएका थिए।
उनले कात्तिक १ गते विश्वासको मत लिए। शुक्रबार माओवादी केन्द्रका गणेश उप्रेती र नेकपा एकीकृत समाजवादी पार्टीका कमलप्रसाद जवेगुलाई मन्त्री बनाएका थिए।
आफूसँग सल्लाह नगरी केन्द्रको गठबन्धनको दलका सांसदलाई मन्त्री बनाएपछि एमाले क्रुद्ध बन्दै शनिबार सरकारबाट बाहिरिएको थियाे।


