जाजरकोट- सोमबार दिउँसोको भूकम्पका कारण जाजरकोटमा सडक अवरूद्ध भएको छ।
भुइँचालोले पहिरो खसेपछि जाजरकोट-डोल्पा मार्गको रिम्ना नजिक सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ।
यस्तै, भूकम्प आएपछि आत्तिएर घरबाट हाम फाल्दा भेरी नगरपालिका-१ रावत गाउँमा एक जना घाइते भएको विवरण पनि प्राप्त भएको प्रहरीको भनाइ छ।
सोमबार अपरान्ह ४:३१ मा जाजरकोटलाई नै केन्द्रबिन्दु बनाएर ५.८ म्याग्निच्यूडको भूकम्पले धक्का दिएको थियो।।
गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।
शुक्रबार मध्यरातको भूकम्पमा परी १५७ जनाले ज्यान गुमाएका छन्।


