काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतले कारणदेखाउ आदेश जारी गरेको छ।
अधिवक्ता युवराज पौडेल ‘सफल’ले दायर गरेको रिटमाथि सुनुवाई गर्दै बुधबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले यस्तो आदेश जारी गरेको हो।
मुद्दा सर्वोच्चले महान्यायाधिवक्ता दिनमणि पोखरेललाई लामिछानेविरूद्ध मुद्दा नचलाउने निर्णय गर्नुको कारण माग गरेको हो। निवेदकको मागअनुसारको अन्तरिम आदेश नआएकाले चुनावी प्रक्रिया अब रोकिने छैन।
यसअघि सर्वोच्च अदालतले मंसिर ४ को निर्वाचनमा चितवन-२ बाट विजयी बनेका लामिछाने उम्मेदवार बन्न नै अयोग्य भएको भन्दै सांसद पद खारेज हुने गरी माघ १३ गते फैसला गरेको थियो। अमेरिकी नागरिकता लिएपछि खारेज भएको नेपाली नागरिकता देखाएर चुनाव लडेको भन्दै उनीविरुद्ध मुद्दा परेको थियो। लामिछानेको सांसद पद खारेज भएसँगै रिक्त रहेको स्थानका लागि वैशाख १० गते उपनिर्वाचन हुँदैछ। यसका लागि उनले उम्मेदवारी पनि दर्ता गराइसकेका छन्।
लामिछानेले अमेरिकी राहदानी हुँदाहुँदै नेपाली राहदानी समेत बनाएको विषय पनि विवादित बनेको थियो। तर सरकारले त्यो विषयलाई अघि नबढाउने निर्णय गरेको भन्दै सफलले अन्तरिम आदेश जारी गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए।
उता चितवन-२ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पनि सफललगायतका चार जनाले रवि लामिछानेविरूद्ध उजुरी दिएका छन्। ‘सफल’को भने उजुरी नलाग्ने कार्यालयले जानकारी दिएको छ। बाँकी तीन जना उम्मेदवार भएकाले उजुरी लाग्ने कार्यालयको भनाइ छ।
उजुरीमा नागरिकता लिएको तीन महिना नपुग्दै उम्मेदवार बन्न नमिल्ने जिकिर गरिएको छ। लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाई पुनः नागरिकता प्राप्ति गरेकोसमेत आरोप छ।
सफलसँगै स्वतन्त्र उम्मेदवार सन्तोष थापा, राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी र स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवबहादुर सुवेदीले उजुरी दिएका थिए।
लामिछानेले आफूविरुद्ध परेको उजुरीको विषयमा स्पष्टीकरण बुझाइसकेका छन्। ६ पेजको स्पष्टीकरण पत्र बोकेर लामिछाने बुधबार दिउँसो १२:३० तिर मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुर पुगेका थिए।
कार्यालयले बुधबारै साँझ उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेको छ।


