काठमाडौँ- जाजरकोट भूकम्पले ६२ हजार घरमा क्षति पुर्याएको पाइएको छ। भूकम्पबाट २६ हजार ५२८ घरमा पूर्ण क्षति पुगेको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जानकारी दिएको छ। उसका अनुसार ३५ हजार ३९५ घरमा आंशिक क्षति पुगेको छ।
केन्द्रले १३ जिल्लामा भूकम्पको प्रभाव परेको छ भने दुई जिल्लामा मानिसहरूको मृत्यु भएको छ। बुधबार साँझ ६ बजेसम्म अद्यावधिक गरिएको विवरण अनुसार ९ जिल्लामा घाइते भेटिएका छन्।
यो भूकम्पले सबैभन्दा बढी क्षति जाजरकोटमा पुर्याएको छ। त्यहाँ १०१ जनाको मृत्यु भएको छ भने १४५ जनाको घाइते भएका छन्।
यसपछिको प्रभावित जिल्ला रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ भने २ सय जना घाइते भएको विवरण केन्द्रमा आइपुगेको छ। घाइतेहरूको विभिन्न स्थानमा उपचार भइरहेको छ।
रुकुम पश्चिमका ९ हजार ९६१ घरमा आंशिक क्षति पुगेको छ भने १६ हजार ५७० घरमा आंशिक क्षति पुगेको छ। यस्तै जाजरकोटका २४ हजार ७०७ घरमा आंशिक क्षति पुग्दा ९ हजार ७९४ घर पूर्ण रूपमा क्षति भएका छन्।
क्षतिको विवरण संकलन भइरहेकाले क्षतिग्रस्त संरचनाको संख्या अझै बढ्न सक्ने केन्द्रको भनाइ छ।



