धवल पुस्तकालय तानसेन पाल्पाले प्रदान गर्दै आएको धवल दीर्घ साधना पुरस्कार वरिष्ठ साहित्यकार शशि पन्थी र धवल सिर्जना पुरस्कार कृष्ण उपन्यासका लेखक डा शङ्करप्रसाद गैरेलाई अर्पण गरिएको छ। सो पुरस्कारको राशी नगद रु २५ हजारसहित सम्मानपत्र रहेको छ।
सांसद ठाकुरप्रसाद गैरे, सो पुस्तकालयका अध्यक्ष युवराज पौडेल, महासचिव राजेशकुमार अर्याललगायतले शनिबार आयोजित कार्यक्रममा संयुक्त रुपमा साहित्यकारद्वयलाई पुरस्कार प्रदान गरे। पुस्तकालयको उन्ननयमा अतुलनीय योगदान दिनुभएका शिक्षाविद् बुद्धिप्रसाद शर्मा र पुस्तकालयमा कार्यरत द्वारिकाप्रसाद शर्मालाई प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको थियो।
कार्यक्रममा सांसद गैरेले धवल पुस्तकालय नेपालकै पुरानै पुस्तकालय भएकाले युग सुहाउँदोरूपमा आधुनिकीकरण गर्दै पूर्णरूपमा ‘डिजिटल’ पुस्कालय निर्माण गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिए। पुस्तकालयले विसं २०७७ देखि ती पुरस्कार प्रदान गर्न सुरु गरेको थियो। सो वर्ष दीर्घसाधना पुरस्कारबाट साहित्यकार नीलकण्ठ न्यौपाने र सिर्जना पुरस्कारबाट निर्मलप्रसाद श्रेष्ठलाई प्रदान गरिएको थियो।

