सिओल- नेपाली कांग्रेसका नेतासमेत रहेका सांसद प्रदीप पौडेलले कोरियामा कार्यरत नेपालीलाई योगदानमा आधारित पेन्सन दिन दक्षिण कोरियाली सरकारसँग आग्रह गरेका छन्। त्यहाँका नागरिक सोसरह सेवा सुविधा दिन र तोकिएको कार्यवधि पूरा गरेका नेपालीलाई पनि पेन्सन दिन पर्ने उनले माग गरेका हुन्।
नेपाल र दक्षिण कोरियाबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठका अवसरमा कोरिया-नेपाल पार्लियामेन्ट्री कमिटीले दक्षिण कोरियाली राजधानी सिओलस्थित नेसनल एसेम्ली हाउसमा आयोजित विशेष कार्यक्रममा अतिथिका रूपमा रहेका सांसद पौडेलले यस्तो आग्रह गरेका हुन्।
‘कोरियामा कार्यरत नेपालीहरूलाई कोरियाली नागरिक सरह योगदानमा आधारित पेन्सन सुविधा उपलब्ध गराउन कोरियाली सरकारलाई हाम्रो आग्रह छ,’ सांसद पौडेलले भने, ‘कार्यावधि सकिएपछि थप काम गर्न चाहने नेपालीका लागि थप अवधिको भिसा दिने प्रक्रिया सुरु गर्न आवश्यक छ।’
पौडेलले नेपाल र कोरियाबीच कनेक्टिभिटी बढाउने र दुवै देशका बीचमा सिधा हवाई उडानहरू दुवै तर्फका ध्वजावाहक वायुसेवा कम्पनीलाई उडान स्वीकृति प्रदान गर्नुपर्ने अवश्यकता औँल्याए। ‘सीधा उडान भए सांस्कृतिक, व्यापारिक र पर्यटनको आदानप्रदान बढ्ने र यात्राको सहजताले उद्यमीहरू र लगानीकर्ताहरूलाई आर्थिक वृद्धि र विविधीकरणमा योगदान गर्दै एकअर्काको देशमा अवसरहरू खोजी गर्न सहयोग पुग्छ,’ उनले भने।
सांसद पौडेलले गत कात्तिक १७ गते राति जाजरकोटको केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितहरुको राहत र पुर्न स्थापनाका लागि सहयोग गर्न दक्षिण कोरिया सरकार र कोरियामा रहेका नेपालीहरुलाई आग्रह गरे।
दक्षिण कोरियाले छोटो अवधिमा तीव्र आर्थिक प्रगति हासिल गरेको उल्लेख गर्दै सांसद पौडेलले कोरियाली आर्थिक विकासको अनुभव नेपालका लागि प्रेरणाको श्रोत बनेको भन्दै प्रशंसा गरेका थिए। पौडेलले कोरियाली लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न अनुरोधसमेत गरे। दुवै राष्ट्रलाई फाइदा हुने अवसरहरू सिर्जना गरेर लगानीका लागि अनुकूल वातावरण प्रदान गर्न नेपाल तयार रहेको उनको भनाइ थियो।
कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुवै देशले सांस्कृतिक आदानप्रदान, आर्थिक साझेदारी, शान्ति र समृद्धिको प्रवर्द्धन र नागरिक स्तरमै सम्बन्ध विस्तार भएको उल्लेख उनले गरेका थिए। आपसी सम्बन्ध थप मजबुत पार्दै लैजाने गरी काम गर्न नेपाली पक्ष तयार रहेको उनको भनाइ थियो।


