‘तपाईंलाई के भनेर चिनौं,’ भित्र प्रवेश गर्नासाथ हामीले उपेन्द्र सुब्बालाई सोध्यौँ।
सुरुमा उनी उही सिग्नेचर हाँसो हाँसे। अनि संवादको प्रसंग जोडे, ‘म त सिक्न साह्रै रुचाउने मान्छे। रहर लागुन्जेल काम गर्छु। अनि त जसले जसरी बोलाए पनि हुन्छ।’
कवि उपेन्द्र सुब्बा कथाकार त थिए नै। उनै कथाकारले ‘कबड्डी शृंखला’मा रामबाबु गुरुङसँग मिलेर वीरकाजीको भाग्य लेखे। ‘कबड्डी-२’मा छन्त्यालले लखेटेपछि ‘झाँक्री’को खोजी कम्ता भएन! फेरि फाइनल म्याचमा देखिएको ‘झाँक्री’ दर्शकका लागि लोकप्रिय थिए। यस्तोसम्म भयो उपेन्द्रको कवि छवि पनि ‘झाँक्री’ले नै ओगट्यो।
उपेन्द्रले फिल्म लेख्दाख्दै यसो सोचे, ‘हाउ, अब त आफैं पो निर्देशन गर्न सक्छु कि!’
उनीभित्रको निर्देशक जागिहाल्यो। र बनाए फिल्म ‘जारी’।
हामीसँग गफिँदै गर्दा निर्देशक उपेन्द्र बेला बेला ढोका ढप्क्याउँथे। अनि गोप्य कुरा भन्दै सुटुक्क बोल्थे, ‘यो चाहिँ सुन्ने गरी भन्नुहुन्न, हा..ऽऽऽ।’
खासमा ‘जारी’को जन्म लेखिँदै गरेको उपन्यासको मृत्युपश्चात् घोषणा भएको रहेछ। उपेन्द्रकै भाषामा भन्दा आफ्नै अल्छीपनाले। ९ वर्षअघि साथी सुरेश न्योङले कथाको एउटा कन्सेप्ट सुनाएछन्। ‘लिम्बू समुदायको प्रेम विषयमाथि कसो उपन्यास नलेखौँ,’ उनले सोचे। त्यसपछि लेख्न थाले उपन्यास।
लेख्दालेख्दै उनी बरालिए। उपन्यासका पात्रहरू फिल्मका रिलमा देखिन थाले। लेखक साथी राजन मुकारुङले बल दिइरहे, ‘लेखौँ। यत्रो लेखिसकियो। पूरा गरौँ।’ दुई दिनको रहरले उपन्यास लेखिन्न भन्ने ठाने उपेन्द्रले। १३ हजार शब्द त जसोतसो पुर्याएका थिए। त्यसपछि उपन्यासकार बन्ने रहरलाई पूर्णविराम दिए।
त्यसपछि त्यही विषयलाई पटकथाको धागोले बाँधे। अनि लेख्न थाले फिल्म।
000
जब केही कुरा भन्नैपर्ने हुन्छ, त्यसलाई अभिव्यक्त गर्न खोजिन्छ। उपेन्द्रलाई सोध्यौँ, ‘जारी लेख्नुको पछाडि के थियो। जुन तपाईंले भन्नैपर्थ्यो?’
‘प्रेम। हाम्रो संस्कृतिमा कसरी प्रेम अभिव्यक्त हुन्छ, त्यो देखाउनुथियो,’ उपेन्द्र भन्छन्।
लिम्बू समुदायमा प्रेम प्रस्ताव गर्न सहज नभएको अनुभव रहेछ उपेन्द्रलाई। ‘हाम्रोमा ७ दिन ७ रात धान नाचेर पनि तिमीलाई मन पराउँछु भन्न सकिन्न,’ उनी सुनाउँछन्। उनलाई यो कुरा व्यक्त गर्न फिल्मको माध्यम सहज थियो। जसरी पनि दर्शक वा पाठकसम्म पुर्याउनु हो।

उपेन्द्र सुब्बा।
‘जारी’को सौन्दर्य पनि देखाउनु थियो उपन्द्रलाई। थुप्रैले यो प्रचलनलाई गलत दृष्टिकोणबाट हेरिरहेका हुन्छन्। तर लिम्बू समूदायमा छोरीचेलीलाई जारीले प्रोत्साहन दिने बताउँछन् उनी। ‘प्राकृतिक रुपमा आफ्नो जीवनसाथी छनोट गर्ने जो उसको हक हो। त्यसकारण लिम्बू समाजमा जारीलाई खराब मान्दैनन्,’ उनी भन्छन्।
उपेद्रले कतिपयले भनेका सुन्छन्, ‘लिम्बूहरूको कथा के फरक होला र?’
‘तर तपाईंलाई थाहा छ धेरै फरक छ। त्यहाँको संस्कृति, रहनसहन, सोच, आस्था विश्वास नै फरक छ,’ उपेन्द्र सुनाउँछन्।
आफ्नो समुदायको कथा भन्न उपेन्द्रले पाँचथरस्थित आफ्नै गाउँ रोजे। गाउँ मात्र हैन, घर पनि आफ्नै। आफ्नै घरमा सुटिङ गर्दा बाल्यस्मृतिहरू फर्किएर आए। उपेन्द्रसँग बातचित गरे। त्यसले एउटा निर्देशकलाई साह्रै सहयोग गर्दो रहेछ! यस्तै लाग्यो उपेन्द्रलाई।
‘तपाईंलाई थाहा छ, जारी उहिल्यै रिलिज हुनुपर्ने थियो। यदि कोभिड नआइदिएको भए,’ उपेन्द्र सुनाउँछन्।
खासमा सुटिङबाट फर्कँदा विसं २०७६ साल अन्तिम महिनाले छोएको थियो। त्यही बेला कोभिडकाल सुरु भयो। हरेक मान्छे कोठाभित्र थुनिए। फिल्म हलभित्र शून्यता छायो। त्यो शून्यता २ वर्षसम्मै रह्यो। ‘एउटा काम अड्किएपछि अरु गर्न मन नलाग्दो रहेछ। त्यसैले जारी अल्झिरह्यो,’ उपेन्द्रले सुनाए।
कोभिडको प्रभाव घटेलगत्तै उपेन्द्र र रामबाबुले ‘कबड्डी’को फाइनल म्याच गराए। फाइनल म्याचमा एक्लो वीरकाजीले सोल्टिनी पायो। त्यही फाइनल म्याचको वीरकाजीको जोडी (दयाहाङ राई र मिरुना मगर) ‘जारी’का मुख्य पात्र हुन्।
गत जेठमा ‘कबड्डी : द फाइनल म्याच’ले नेपाली फिल्म उद्योगलाई नयाँ खुसी दियो। त्यसपछि उपेन्द्र र रामबाबुले सिर्जना गरेको ‘फूलबारी’ले फिल्म क्षेत्रमा उत्साहको रङ भरिदियो। अब वसन्त ऋतुमा वैशाख १ मा ‘जारी’ले नयाँ पालुवा भरिदिएला? त्यो भने हेर्न बाँकी नै छ।
‘जारी’को ट्रेलर आइसकेपछि भने उपेन्द्रले एउटा प्रश्न खेपिरहेका छन्, ‘यसको कथा नुमाफुङजस्तै छ त?’
कतिपयले ‘नुमाफुङ’सँग फिल्मलाई दाँज्दा उपेन्द्र खुसी छन्। ‘जारी’ नुमाफुङुसँग दाँजिनु मेरा लागि भाग्यको कुरा हो,’ उनी भन्छन्। एउटै समुदायको कथा भन्दा उस्तै उस्तै लाग्नु स्वभाविक ठान्छन् उनी। ‘उस्तै उस्तै लागे पनि उस्तै चाहिँ हैन,’ उपेन्द्र भन्छन्।
नवीन सुब्बा निर्देशित फिल्म ‘नुमाफुङ’ ५०को दशकको उत्कृष्ट फिल्म हो। अहिलेसम्म पनि यो फिल्मको चर्चा फिल्मपारखीमाझ उतिकै हुने गर्छ।
‘नुमाफुङֹ’पछिको ग्याप उपेन्द्रलाई मेटाउनु थियो। त्यही मेटाउनका लागि पनि ‘जारी’ आएको दाबी छ उनको। ‘वैवाहिक सम्बन्धको कथा भए पनि नुमाफुङले सुनौली रुपौली नलिऊ भन्ने सन्देश दिन्छ। तर मेरो चाहिँ जारीको कथा हो,’ उनी भन्छन्।
उपेन्द्र अब वैशाख १को पर्खाइमा छन्। उनले सुटुक्क भनेका थिए, ‘मैले कथा भन्न मात्र हैन। खासमा पैसा कमाउन पनि बनाएको हुँ नि फिल्म।’
अब हलमा ‘जारी’ तिर्ने दर्शकहरू कति आउने हुन्, त्यसले निर्धारण गर्छ। उपेन्द्र अन्तिममा उही सिग्नेचर हाँसो छाड्दै भन्छन्, ‘सबैलाई निम्तो गरिदिनुस् है।’
