काठमाडौँ- काठमाडौँको शंखरापुर नगरपालिका-३ लप्सीफेदीमा प्रहरीमाथि आक्रमण गरेको आरोपमा १४ जना पक्राउ परेका छन्। शुक्रबार राति चार जना र आज बिहान १० जना गरी १४ जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा तामाकोशी हाइड्रोपावर पीडित संघर्ष समितिका अध्यक्ष रञ्जित तामाङसहित छन्। नेपाल विद्युत प्राधिकरणले लप्सीफेदीमा निर्माण गर्ने सबस्टेसन र त्यसको सुरक्षा पोस्ट स्थापनाको विषयमा विवाद हुँदा शुक्रबार राति प्रहरी र स्थानीयबीच झडप भएको थियो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार सबस्टेसनको सुरक्षाका लागि जिल्ला सुरक्षा समितिको बैठकले प्रहरी नायव उपरीक्षक (डिएसपी)को नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोस्ट राख्ने निर्णय भएको थियो।
सोही निर्णय बमोजिम शुक्रबार प्रहरीको टोली लप्सीफेदी पुगेको थियो। तर, स्थानीयले बाटोमा रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै सुरक्षाकर्मीहरुलाई ढुङ्गामुढा गर्दै आक्रमण गरेका थिए।
स्थानीयको आक्रमणबाट डीएसपी देवराज राईसहित तीन जना सुरक्षाकर्मी घाइते भएको प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए। शंखरापुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष सूर्यबहादुर तामाङले बस्तीको बीचमा सबस्टेसन निर्माण गर्न नहुने स्थानीयको माग रहेको बताए।


