काठमाडौं- एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आज आयोजक देश भारत र अष्ट्रेलिया मैदानमा उत्रँदैछन्। भारतले न्यूजिल्यान्डलाई हराएर फाइनलको यात्रा तय गर्दा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई पराजित गर्दै फाइलन पुगेको हो।
२० वर्षपछि भारत र अष्ट्रेलिया विश्वकपको फाइनलमा एकअर्का विरुद्ध भिड्न लागेका हुन्। सन् २००३ मा भारत र अष्ट्रेलियाबीच फाइनल खेल भएको थियो। सो फाइनल खेलमा अष्ट्रेलियाले भारतलाई १२५ रनले पराजित गर्दै उपाधि जितेको थियो। फाइनल खेल अहमदाबाद स्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुनेछ। भारतले अहिलेसम्म २ पटक विश्वकपको ट्रफी जितेको छ।
अष्ट्रेलियाको खातामा ५ वटा विश्वकपका ट्रफी छन्। भारत १२ वर्षपछि विश्वकपको तेस्रो उपाधि जित्ने योजनामा छ। भारतले पछिल्लो पटक सन् २०११ मा विश्वकपको उपाधि जितेको थियो।
उपाधि विजेतालाई कति पाउँछ पुरस्कार?
आइसीसीले प्रतियोगिता सुरु हुनुअघि नै पुरस्कारको घोषणा गरिसकेको छ। आइसीसीले विश्वकपको पुरस्कारका लागि १० मिलियन अमेरिकी डलर (८३ करोड २९ लाख भारतीय रुपैयाँ) बजेट विनियोजन गरेको छ। जसमध्ये उपाधि जित्ने टिमले चार मिलियन डलर (३३ करोड ३१ लाख भारु) पाउनेछ। उपविजेताले दुई मिलियन डलर (१६ करोड ६५ लाख भारु) प्राप्त गर्नेछ।
सेमिफाइनलमा हारेका दुई टिम (न्यूजिल्यान्ड र दक्षिण अफ्रिका)ले ८ लाख अमेरिकी डलर (६ करोड ६६ लाख) रुपैयाँका दरले रकम प्रपा्त गर्नेछन्। समूह चरणबाट बाहिरिने ६ टोली (पाकिस्तान, अफगानिस्तान, इंग्ल्यान्ड, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड)ले १ लाख अमेरिकी डलर (८३ लाख २९ हजार भारु) प्राप्त गर्नेछन्।


