भरतपुर- बोराभित्र पोको पारेको अवस्थामा चितवनमा दुइटा शव फेला परेको छ।
भरतपुर महानगरपालिका वडा नम्बर ९ मिलनचोकस्थित कल्भर्टमा बोराभित्र शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितका अनुसार बुधबार दिउँसो शव फेला परेको हो।
‘अन्दाजी ३० वर्षका पुरूष र महिलाको शव जुटको बोराभित्र फेला परेको छ,’ उनले भने, ‘दुवै जनाको हात-खुट्टा बाँधिएका छन्। मुखमा टेपसमेत लगाइएको छ।’
खोलामा माछा मार्न पुगेका व्यक्तिले बोराभित्र रहेका शव भेट्टाएर प्रहरीलाई खबर गरेको डिएसपी पण्डितले बताए। शवको सनाखत भइसकेको छैन।
प्रहरीले घटनाबारे अनुसन्धान सुरू गरिएको जनाएको छ।


