काठमाडौं- नेपाली कांग्रेसका नेता प्रदीप पौडेल नेतृत्वको टोलीले भूकम्पबाट प्रभावित जाजरकोटमा अस्थायी आवास निर्माणको काम जारी राखेको छ। पार्टीको निर्णयअनुसार पौडेल नेतृत्वको टोली पुगेर नलगाड नगरपालिका वडा नम्बर ५ स्थित रघुनाथ टोलमा मंगलबारदेखि अस्थायी टहरा निर्माणको काम थालेको थियो। महासमिति सदस्य सुशील भट्टका अनुसार टोलीले करिब १०० अस्थायी टहरा बनाउने लक्ष्य राखेको छ।
१५० जनाको टोलीले क्षतिग्रस्त भएका घरहरुको भग्नावशेष पन्छाउन पनि सहयोग गरिरहेको छ। टोलीमा नेता पौडेलसहित प्रदेश सभा सदस्य दिल्लीराम सुवेदी, महासमितिद्वय सदस्य भट्ट र महेन्द्र शाह, नेपाली कांग्रेसको कार्यालय सचिव मुक्ति आचार्य, नेता इन्जिनियर दीपक बाबु कँडेल , कांग्रेस जाजरकोट जिल्ला सहसचिव छवि पन्त, नलगाड नगरपालिका वडा नं ५ का वडाध्यक्ष ओमराज ओली लगायत छन्।
पौडेल नेतृत्वको टोली नलगाड नरगपालिका ४ र ५ नम्बर वडामा खटिनेछ। टोलीमा नेपालगन्ज र सुर्खेतबाट ३५ जना सिकर्मी–डकर्मी, ५–६ जना इन्जिनियर समेत लगिएको छ।


