काठमाडौँ- काठमाडौँमा आज दुईवटा छुट्टाछुट्टै समूहले विरोध प्रदर्शन गर्दै छन्। नेकपा एमाले र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले विरोधका छुट्टाछुट्टै कार्यक्रम गर्न लागेका हुन्।
प्रसाईं नेतृत्वको समूहले बल्खुमा प्रदर्शन गर्ने ठाउँ पाएको छ भने एमालेले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको छ। एमालेले दुर्गा प्रसाईंलाई देखाइदिन प्रदर्शनको कार्यक्रम राखिएको बताउँदै आएको छ। यद्यपि उसले आफूहरूको प्रदर्शन अराजकताविरुद्ध हुने समेत भनेको छ।
प्रसाईको प्रदर्शनका लागि देशका विभिन्न स्थानबाट आएका व्यक्तिहरूलाई एमालेले उपत्यका छिर्ने नाकामा चेकजाँच गरी फर्काइदिएको पनि छ। यस्तै प्रसाईको प्रदर्शनका लागि आएका व्यक्तिहरू बास बसेको स्थानमा पुगेर लखेटेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रसाईंको आन्दोलन काठमाडौँ फोहोर गर्नका लागि मात्र हुन लागेको आरोप लगाएका छन्। एमालेजस्तो जिम्मेवार दल दुर्गा प्रसाईंसँग भिडेको भन्दै एमालेको आलोचना भइरहेको छ।
प्रदर्शनको सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना बनाएर लागु गरेको छ। प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा योजना तयार गरिएको उपत्यका प्रहरी कार्यालयले उल्लेख गरेको छ।
प्रदर्शन स्थल र जुलुस आउने बाटोमा १ हजार ५८८ सशस्त्र प्रहरी, काठमाडौँमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ। ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा ९७८ जना ट्राफिक प्रहरी परिचालित हुनेछन्। २ सय जना सादा पोसाकका प्रहरी परिचालन हुने समेत प्रहरीले जानकारी दिएको छ।
प्रहरीले ड्रोनबाट पनि प्रदर्शन स्थलको सुरक्षा निगरानी गर्ने भएको छ।
एमालेले बाइपास, पार्टी कार्यालय च्यासल, सूर्यविनायक, सिनामंगल, मीनभवन क्याम्पस र कोटेश्वर महादेवस्थानमा भेला जम्मा भई तिनकुने जाने भएकाले ती रुटमा यातायात प्रभावित हुन सक्ने आकलन गरिएको छ।
दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा जम्मा भएर बल्खु पुग्ने योजना बनाएकाले ती स्थानमा पनि ट्राफिक व्यवस्थापन प्रभावित हुन सक्ने देखिएको छ।
जिल्ला प्रशासनले उनको अभियानका लागि बल्खु तोकिदिएपछि सहरका ८ स्थानबाट कलंकीतर्फ जुलुस प्रस्थान गराउने तयारी छ। भक्तपुर परीक्षा नियन्त्रण कार्यालय, गोंगबु चोक, स्वयंभू, कलंकी चोक, जावलाखेल, सातदोबाटो, चाबहिल चोकबाट बल्खु जाने गरी जुलुस निकाल्ने तयारी गरिएकाले ती सडकको ट्राफिक व्यवस्थापन प्रभावित हुन सक्ने देखिएको हो।
पनिकाबाट गठ्ठाघर, लोकन्थली, जडीबुटी, कोटेश्वर, ग्वार्कोबाट एकान्तकुना हुँदै बल्खु तर्फको सडक प्रभावित हुन सक्ने आकलन छ। यस्तै गोंगबुबाट सोह्रखुट्टे, ढल्कु र कालीमाटी हुँदै बल्खु, स्वयंयुभूबाट कलंकी रविभवन र कालीमाटी हुँदै बल्खु जाने बाटो प्रभावित हुन सक्ने अनुमान छ।
यस्तै जावलाखेलबाट एकान्तकुना, नख्खु हुँदै धोबीघाट जाने बाटो पनि प्रभावित हुन सक्ने छ। सातदोबाटोदेखि बल्खुसम्मको चक्रपथ क्षेत्र पनि प्रभावित हुन सक्ने छ। यसैगरी चाबहिल चोकबाट गौशाला, मैतीदेवी, डिल्लीबजार, पुतलीसडक, बागबजार, सुन्धारा, त्रिपुरेश्वर, कालीमाटी हुँदै बल्खु पुग्ने बाटो पनि प्रभावित हुन सक्नेछ।


