मोरङ- मोरङको उर्लाबारी आगलागी घटनामा घाइतेका भएका तीन जनाको मृत्यु भएको छ।
२६ कात्तिकमा स्नेहा सुनचाँदी पसलमा भएको आगलागी नियन्त्रणका क्रममा सिलिण्डर विष्फोट हुँदा चार प्रहरीसहित २८ जना घाइते भएका थिए ।
घाइतेमध्ये तीन जनाको मृत्यु भएको जानकारी आएको जिल्ला प्रहरी कार्याल मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले बताए।
मंगलबार बिहान एक जनाको मृत्यु भएको थियो। बुधबार राति र बिहीबार बिहान थप दुई जनाको मृत्यु भएको हो। उनीहरु सबैको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो।
मृत्यु हुनेमा उर्लाबारी–७ का ४९ वर्षीय हेमकुमार दाहाल (दीपक) र बिहीबार बिहान साढे ६ बजेतिर उर्लाबारी–७ कै ४२ वर्षीय कुमार तामाङको मृत्यु भएको थियो। मंगलबार स्थानीय ४३ वर्षीय तपन पण्डितको उपचारका क्रममा मृत्यु भएको थियो।
स्थानीय दीपक कार्कीको सुनचाँदी पसलमा कात्तिक २६ गते राति आगलागी भएको थियो। पसलमा लागेको आगो नियन्त्रणमा लिने क्रममा सिलिन्डर विष्फोट हुँदा ४ जना प्रहरीसहित २८ जना घाइते भएका थिए।
आगलागीका घाइते प्रहरी र २० जना स्थानीय गरी २४ जनालाई थप उपचारका लागि काठमाडौंको कीर्तिपुर वर्न अस्पताल लगिएको थियो।


