काठमाडौँ- जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई जनही २ वर्षको जेल सजाय हुने फैसला गरेको छ।
तीन वर्षअघि चलाउनेमाथि आक्रमण गर्ने नेविसंघका ६ नेतालाई जनही २ वर्ष कैद सजाय र २० हजार जरिवाना गराउने फैसला गरेको हो। यसका साथै चलाउनेलाई २८ लाख क्षतिपूर्ति भराउनसमेत अदालतले फैसला गरेको छ।
न्यायाधीश विनोद खतिवडाको इजलासले १ जनालाई भने सफाइ दिएको छ।
जिल्ला अदालतले नेविसंघ त्रिवि समितिका अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल, रुपेश शाह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगरलाई दुई वर्ष कैद सजाय हुने फैसला गरेको हो। दिपक ओझालाई भने सफाइ दिएको छ।
यसैगरी, चलाउनेको उपचारमा लागेको २८ लाख १७ हजार रुपैयाँ क्षतिपूर्ति ६ जनाबाट बराबर भराउन अदालतले भनेको हो।
चलाउनेले जिल्ला अदालतको फैसलाले आफूलाई आंशिक न्याय मिलेको प्रतिक्रिया दिए।
प्रेम चलाउनेमाथि २०७७ साल असोज २० गते त्रिभुवन विश्वविद्यालय परिसरमा कुटपिट भएको थियो।
गत जेठ ३० गते बसेको मन्त्रिपरिषदको बैठकले उनीमाथि कुटपिट गरी ज्यान मार्ने उद्योगको मुद्दा फिर्ता गर्ने निर्णय समेत गरेको थियो। त्यसविरूद्ध उनी सर्वोच्च समेत पुगेका थिए। उक्त निर्णयविरूद्ध उनले अनसनसमेत सुरू गरेका थिए। सर्वोच्चले उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो।
यसपछि उपप्राध्यापक चलाउनेले बसेको अनसन फिर्ता लिएका थिए।


