काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्नका लागि अनुमति नदिएको जनाएको छ। अनुमति नलिई तीनकुनेमा प्रदर्शन गर्ने अभिव्यक्त दिएपछि उनको घर घेर्नका लागि प्रहरी पुगेको छ।
प्रसाईंका प्रेस संयोजक सज्जन पोखरेले निवास वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको र आउजाउ गर्नेमाथि खोधपुछ र अवरोधको प्रयास भएको बताए।
जिल्ला प्रशासन कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै प्रसाशन सँग कुनै समन्वय नगरी शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने गरी कार्यक्रम सार्वजनिक गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।
प्रसाईँले शुक्रबारदेखि तीनकुनेमा विरोधका कार्यक्रम गर्न घोषणा गरेका थिए। जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र प्रसाद आचार्यद्वारा बिहीवार जारी विज्ञप्तिमा गलत मनशायका साथ कार्यक्रम गर्न लागिएको आरोप लगाइएको छ।
शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानुन विपरीतका गतिविधि गरेमा कानुन बमोजिम कारबाही गरिने प्रशासनको चेतावनी छ।
काठमाडौंको विभिन्न ठाउँबाट दुर्गा प्रसाईंको अभियानका केही समर्थक पक्राउ परेको उक्त अभियानको भनाइ छ। आफ्ना कार्यकर्ताहरुलाई बिना कारण पक्राउ गरेको भन्दै प्रसाईंले पत्रकार सम्मेलन गर्ने भएका छन्।
बल्खुमा बिहीबार भएको प्रदर्शनमा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो।



